विराटनगर : रकम हिनामिना गरेको आरोपमा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका तीनजना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।
अस्पतालका ‘क्यासियर’ विराटनगर महानगरपालिका १ का ४२ वर्षीय सूर्यप्रकाश बराल, सुनसरीको दुहबी नगरपालिका १२ का २९ वर्षीय राजेशकुमार फौदार र विराटनगर ४ का ३० वर्षीय करणदेव विश्वासलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
उनका अनुसार तीनै जनालाई ‘क्यासियर’को जिम्मेवारी दिएर अस्पतालले नियुक्त गरेको पाइएको छ ।
अस्पतालको ‘क्यास काउन्टर’मा कार्यरत उनीहरूकै संलग्नतामा रकम अपचलन गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अस्पतालले किटानी जाहेरी दिएपछि तीनै जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको दाहालले बताए ।
उनका अनुसार बराल र फौदारलाई पुस १० गते तथा विश्वासलाई पुस १३ गते पक्राउ गरिएको हो । उनीहरूविरुद्ध आपराधिक विश्वासघात मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको डीएसपी दाहालले बताए ।
कर्मचारीले अस्पतालमा भर्ना भएका बिरामीसँग बढी पैसा लिने र अस्पताललाई कम देखाउने गरेको पाइएको नोबेल अस्पतालका महाप्रबन्धक दीपेश राईले बताए ।
आर्थिक अपचलनको विषय पत्ता लगाउन अस्पताल प्रशासनले आन्तरिक हिसाबबाट छानबिन थालेको छ । ‘छानबिनको अन्तिम विवरण प्राप्त भइसकेपछि सबै यकिन हुन्छ,’ उनले भने, ‘कर्मचारीले लाखौं रुपैयाँ हिनामिना गरेको अनुमान छ ।’













Discussion about this post