इटहरी : मोरङको सुन्दरहरैँचामा एक बालिका बलात्कृत भएकी छन् । १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका १० का ५५ वर्षीय पदम मगर रहेका छन् । इलाका प्रहरी कार्यालय विराटचोकबाट सइ प्रहरी नायव निरीक्षक नीरबहादुर खड्काको नेतृत्वमा खटिएको टोलीले बुधबार राति घरबाटै पक्राउ गरेको हो ।
प्रहरीका अनुसार धनकुटा घर भएकी बालिकाका अभिभावक मगरकै घरमा डेरा बस्दै आएका थिए । बुवा विदेशमा छन् । आमाले दोस्रो बिहे गरेर गएपछि बालिका हजुरबुवा र हजुरआमासँग बस्दै आएकी थिइन् ।
अभिभावकसँग आफ्नै घरमा डेरा बस्दै आएकी बालिकालाई मगरले पटकपटक बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मगरले पछिल्लो पटक मंगलबार बालिकालाई बलात्कार गरेको खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए ।
अभिभावक कोहीपनि नभएको अवस्थामा शौचालय नजिकको खाली जग्गामा लगेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनका अनुसार मुख थुनेर बोल्न समेत नदिइकन र कसैलाई भनेमा कुटपिट गर्ने धम्की दिएर मगरले बलात्कार गरेको खुलेको छ ।
हातमा समातेर तान्दै गर्दा बालिकाकी हजुरआमाले बुधबार दिउँसो देखेपछि घटना बाहिर आएको हो ।
‘मगरले हातमा समातेर तान्दै गर्दा बालिका चिच्याइछन् । त्यतिबेलै हजुरआमाले पनि देखेपछि घटना बाहिर आएको हो,’ डीएसपी दाहालले भने, ‘सोधीखोजी गर्दा यसअघि पनि पटकपटक बलात्कार गरेको बालिकाले बताएकी छन् । डर र त्रासका कारण बालिकाले घटनाका बारेमा अभिभावकलाई सुनाउन नसकेको पाइएको छ ।’
पीडित बालिकालाई उपचार तथा स्वास्थ्य परीक्षणका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनाको अनुसन्धान अघि बढाएको छ ।













Discussion about this post