विराटनगर : विराटनगरको एक क्यासिनोबाट जुवा खेलेर निस्किएका युवाबीच खुकुरी हानाहान हुँदा एक युवक घाइते भएका छन् ।
कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार विराटनगर महानगरपालिका ११ स्थित रत्ना होटलमा सञ्चालित क्यासिनोमा जुवा खेलेर निस्किएका नेपाली युवाहरूबीच शनिबार बिहानको राति साढे १ बजेतिर खुकुरी हानाहान भएको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार मादक पदार्थ सेवन गरेका युवाहरूबीच खुकुरी र मोटरसाइकलको हेल्मेट हानाहान भएको हो । खुकुरी प्रहारबाट विराटनगर ११ का ३१ वर्षीय रोनाल कँडेल घाइते भएका छन् ।
उनको टाउको र देब्रे कानमा गहिरो चोट लागेकाले हाल विराट नर्सिङ होममा उपचार भइरहेको डीएसपी दाहालले जानकारी दिए ।
उनकाअनुसार कँडेलको टाउकोमा १२ र कानमा ५ टाँका लगाइएको छ। घटनामा संलग्न झापाको घैलाडुब्बा घर भइ विराटनगर ८ मा बस्दै आएका ३८ वर्षीय विक्रम थपलियालाई पक्राउ गरिएको जानकारी दिए। उनका अनुसार कँडेलमाथि थपलियाले आक्रमण गरेका हुन्।
उनले भने, ‘युवाहरूबीच झैझगडा र कुटाकुट भएको जानकारी प्राप्त हुनसाथ घटनास्थलमा प्रहरी टोली पुगेको थियो ।’
‘कँडेल र थपलियासहित केही नेपाली युवा जुवा खेल्न क्यासिनोमा छिरेका थिए। जुवा खेल्ने क्रममा पैसा हारमारको विषयलाई लिएर साथीबीच नै विवाद भएको थियो,’ एक प्रत्यक्षदर्शीले भने, ‘झगडा हुन थालेपछि क्यासिनोका बाउन्सरले उनीहरूलाई बाहिर निकाले। त्यसपछि क्यासिनो परिसरमै उनीहरूबीच खुकुरी र हेल्मेटले हानाहान हुन थाल्यो।’
खुकुरी र हेल्मेटले हानाहान गर्न थालेपछि बाउन्सर तथा सुरक्षागार्डले उनीहरुलाई क्यासिनो परिसरबाट बाहिर निकालेका थिए।
कानुनतः क्यासिनोमा नेपालीलाई प्रवेश निषेध छ । तर, विराटनगरको रत्ना होटलमा ‘सम्राट’ र बिग होटलमा ‘च्याम्पियन जोन’ क्यासिनोमा नेपाली युवाहरूले जुवा खेल्न पाइने स्रोतले बताएको छ ।
‘भारतीय ग्राहक नियमित आउँदैनन् । नेपाली दिनै पुग्छन्,’ क्यासिनोका एक कर्मचारी भन्छन्, ‘पैसा कमाउनकै लागि सञ्चालकले पनि नेपालीलाई रोक्दैनन्। नेपालीले प्रवेश पाउने वातावरण बन्नुमा सबै पक्षको मिलेमतोजस्तो देखिन्छ।’













Discussion about this post