इटहरी (डेस्क) : ओखलढुंगाको मोलुङ गाउँपालिकामा भएको स्कारपियो दुर्घटनामा चालकको मृत्यु भएको छ ।
मोलुङ गाउँपालिका ५ प्राप्चादेखि सोही वडाको खोलाखर्क जाँदै गरेको बा २० च ४८६२ नम्बरको स्कारपियो दुर्घटना हुँदा मोरङ पथरीका २६ वर्षीय गणेश रसाइलीको मृत्यु भएको हो ।
आयु मोलुङ हाइड्रोपावर कम्पनीका कर्मचारी लिएर जाँदै गरेको स्कारपियो अनियन्त्रित भएर सडक भन्दा करिब एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपरीक्षक दीपकबहादुर केसीले जानकारी दिए ।
दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइतेहरूमा तेह्रथुमको मन्छायाम गाउँपालिका ५ का ३२ वर्षीय यज्ञप्रसाद निरौला, भक्तपुर सल्लाघारीका ३८ वर्षीय मित्रलाल भुर्तेल, सिन्धुलीका ४५ वर्षीय सन्देश कार्की, ओखलढुंगाको मोलुङ गाउँपालिका ५ का ४० वर्षीय कुमार कार्की र सुनसरी रामधुनी नगरपालिका ४ का ३२ वर्षीय अर्जुन दाहाल घाइते छन् ।
गनसमध्ये गम्भीर घाइते भएका मित्रलाल भुर्तेल, सन्देश कार्की र कुमार कार्कीको थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post