मोरङ : मोरङमा रहेको एक सहकारीको मुख्य कार्यालय र शाखा कार्यालयमा एकैरात चोरी भएको छ । सहकारीको झण्डै १३ लाख रुपैयाँ मंगलबार राति चोरी भएको हो ।
प्रहरीका अनुसार लेटाङ नगरपालिका २ फँडानीमा रहेको एकीकृत जनभावना बचत तथा ऋण सहकारी संस्थाको मुख्य कार्यालय र उक्त सहकारीको लेटाङ २ खैरेनीमा रहेको शाखा कार्यालयबाट रकम चोरी भएको छ ।
मुख्य कार्यालयबाट ८ लाख ९० हजार ४ सय ४५ रूपैयाँ र शाखा कार्यालयबाट ३ लाख ९० हजार ५ सय ८५ रूपैयाँ चोरी भएको सहकारीका अध्यक्ष हेरम्भराज भट्टराईले जानकारी दिए ।
उनका अनुसार मुख्य कार्यालय र शाखा कार्यालयबाट गरेर १२ लाख ८१ हजार ३० रुपैयाँ चोरी भएको छ । सहकारीमा चोरी भएको समय खुल्न नसकेको र बुधबार बिहान मात्रै घटनाका बारेमा थाहा भएको अध्यक्ष भट्टराईले बताए ।
‘सहकारीको पर्खाल नाघेर चोरीमा संलग्न भित्र छिरेको पाइयो । मुख्य कार्यालयभित्र तीनवटा गेट थिए । एउटा गेटमा ४ वटासम्म ताला लगाइएको थियो,’ उनले भने, ‘सबै गेटको ताला तोड्दै भित्र छिरेर ‘सेफ’ भएको ठाउँमा पुगेको देखिन्छ ।’
सहकारीको पछाडि साइरनसहितको ताला भएको गेट पनि थियो । चोरीमा संलग्नले उक्त गेटलाई भने नचलाएको अध्यक्ष भट्टराईको भनाइ छ ।
उनका अनुसार शाखा कार्यालयमा भने ताला तोडेर मुल ढोका तथा चेन गेट फोड्दै भित्र छिरेर चोरी गरेको पाइएको छ । सहकारीमा गत वर्ष पनि चोरीको प्रयास भएको थियो ।
घटनाको प्रकृति हेर्दा सहकारीका बारेमा सबै जानकारी राख्नेले नै चोरी गरेको हुनसक्ने प्रहरीको अनुमान छ । यद्यपि, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post