इटहरी : केन्द्रमा सत्ता गठबन्धनको समीकरण फेरिएसँगै नेकपा एमालेले कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको राजीनामा मागेको छ ।
कोसी प्रदेशसभाका नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले केन्द्रको सत्ता समीकरण फेरिएसँगै मुख्यमन्त्री कार्कीले राजीनामा दिनुपर्ने बताएका हुन् ।
‘केदार कार्कीजी सिधै केन्द्रको गठबन्धनमा सामेल भएको कारण केन्द्रीय गठबन्धन टुटेपछि उहाँ स्वतहः अल्पमतमा पर्नुभयो,’ भण्डारीले भने, ‘त्यसैले उहाँले नैतिकताको हिसाबबाट राजीनामा दिनुपर्छ ।’
मुख्यमन्त्री कार्कीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने र प्रदेश प्रमुखले अर्को सरकार गठनको निम्ति विकल्प निकाल्नुपर्ने उनले बताए । वर्तमान कार्की नेतृत्वको सरकार संविधानको १६८ (५) बमोजिम गठन भएको र सरकार गठन गर्न संविधानको सबै धारा प्रयोग गरिएपनि विकल्पको सरकार गठन गर्न कुनै रोकछेक नहुने उनको भनाइ छ ।
‘संविधानको ५ वटै धारा प्रयोग भएपछि विकल्पको सरकार बनाउन नहुने भनेर कहीँ लेखिएको छैन,’ सचेतक भण्डारीले भने, ‘जनताले पाँच वर्षसम्म म्यान्डेड दिएका कारण अब संविधानको जुनसुकै धाराबाट पनि प्रदेश प्रमुखले सरकार गठन गर्न सक्नुहुनेछ ।’
उनका अनुसार सरकार गठनको प्रक्रिया संविधानको धारा १६८ (२) वा १६८ (५) बमोजिम गर्न सकिनेछ ।
‘मुख्यमन्त्रीले नैतिकता देखाउनुभएको अवस्थामा आजै राजीनामा दिनुपर्ने हो । उहाँले राजीनामा नदिए हामी आफैँ राजीनामा गराउँछौं,’ भण्डारीले थपे, ‘अब बन्ने सरकार वैकल्पिक सरकार हो । सरकार गठनका लागि कुनै संवैधानिक अफ्ट्यारो छैन ।’
सरकारसँग जुनसुकै समयमा पनि बहुमत हुनुपर्ने र अल्पमत भएको अवस्थामा कानुनी हिसाबले सरकार ढल्ने उनले बताए । केन्द्रको सत्ता समीकरण फेरबदल भएसँगै कोसीका मुख्यमन्त्री कार्कीसँग बहुमत छैन । त्यसो हुँदा एमालेले कोसीमा पुनः सरकार गठनबारे आन्तरिक छलफल थालेको छ ।
कोसीमा एमालेकै नेतृत्वमा सरकार गठन हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘ठूलो दलको हैसियतले सम्भावना छ । तर परिस्थितिले के भन्छ, कसको नेतृत्वमा सरकार बन्छ अहिले नै भन्न सक्ने अवस्था छैन ।’ कोशीमा ठूलो दलको हिसाबले एमालेकै नेतृत्वमा सरकार बन्ने भएपनि परिस्थितिले अहिले नै भन्न नसकिने उनले बताए ।
उनका अनुसार कोशीमा अब एमाले–माओबादीसहितको गठबन्धनबाट वैकल्पिक सरकार बन्नेछ । यता, माओबादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने वर्तमान सरकारको विकल्पबारे अहिले नै ठोस धारणा नबनाइसकेको बताए ।
‘केन्द्रीय समीकरणको प्रभाव स्वभाविक रूपमा प्रदेशसम्म हुन्छ नै । केन्द्रको प्रभावले प्रदेशमा अब कस्तो परिस्थिति आउँछ भन्नेबारे छलफल भएको छैन,’ उनले भने, ‘हामीकहाँ अरु प्रदेशको भन्दा परिस्थिति भिन्न भएका कारण प्रदेशसभा विघटन गर्ने वा वैकल्पिक सरकार बन्ने भन्नेबारे छलफल हुनै बाँकी छ ।’
संविधानको धारा १६८ को उपधारा ५ बमोजिमको सरकार परिवर्तनबारे कानुनका जानकारहरूसँग छलफल गरिने उनले बताए । ‘यसबारे कानुनका विज्ञहरूसँग छलफल हुन्छ । तर, अहिले नै ठोस धारणा केही बनाएका छैनौँ ।’ उनले भने ।
गत असोज २७ गते संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री भएका कार्कीले १ कात्तिकमा विश्वासको मत लिएका थिए ।
कांग्रेसका डा. शेखर कोइराला समूह निकट रहेका आठ सांसद र नेकपा एमालेका ३९ जना सांसद गरी ४७ प्रदेशसभा सदस्यको हस्ताक्षरमा मुख्यमन्त्री बनेका कार्कीले १७ कात्तिकमा नेकपा एकीकृत समाजवादी र माओवादीलाई पनि सरकारमा समावेश गरेपछि एमाले सरकारबाट बाहिरिएको थियो ।
एमाले तत्काल सरकारबाट बाहिरिए पनि विश्वासको मत भने फिर्ता लिएको छैन । यद्यपि, एमाले प्रतिपक्षमा बसेको छ । मुख्यमन्त्री भएको चार महिनापछि गत माघ २६ गते मात्रै कार्कीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए ।
कोसी प्रदेशसभामा गठबन्धन दलमध्ये कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका चार र जसपाका एक जना प्रदेशसभा सदस्य छन् । यस्तै, एमालेका ४० (उपसभामुखसहित) र राप्रपाका ६ (सभामुखसहित) सांसद छन् ।












Discussion about this post