विराटनगर : विराटनगरमा गर्ल्स होस्टेलका विद्यार्थीमाथि दुर्व्यवहार भएको घटना बाहिरिएको छ ।
होस्टेलमा बसेका विद्यार्थीहरूले अग्रिम रकम दिन नमानेपछि विद्यार्थीहरूका सामान कोठाबाट बाहिर फ्याँकेर हातपात समेत गर्दै दुर्व्यवहार भएको घटना बाहिरिएको हो ।
विराटनगर महानगरपालिका ४ मा रहेको मुनलाइट गर्ल्स होस्टलकी सञ्चालक मधु रेग्मी कट्वालले विद्यार्थीहरूलाई हातपात गर्दै दुर्व्यवहार विद्यार्थीहरूले बताएका छन् ।
सामाजिक सन्जालमा पोष्ट भएको् भिडियोअनुसार होस्टेल सञ्चालक मधुले एउटा कोठाभित्र बसेका छात्राहरूसँग तीन-तीन हजार रुपैयाँ पेमेन्ट गरिदिन भनेको देखिन्छ । लगत्तै उनी जंगिंदै होस्टेलबाट ‘निस्किहाल्’ भन्दै जाइलागेको भिडियोमा देखिन्छ । त्यही कोठाभित्र रहेका अन्य दुई छात्राले रोक्न खोजेको देखिन्छ तर सक्दैनन् ।
उक्त भिडियो मंगलबार बेलुकाको हो । सो होस्टेलको कोठामा विराटनगर नर्सिङ क्याम्पस पहिलो वर्षमा भर्ना भएका खनाल, गिरी र भण्डारी थरका तीन जना विद्यार्थीहरू फागुन ३ गतेदेखि बसिरहेका थिए ।
उनीहरूले ३ चैतसम्मका लागि अग्रिम आठ हजार रुपैयाँ बुझाएका थिए ।
३ चैतसम्मको पैसा तिरिसकेको र त्यसअघि नै कलेजको होस्टलमा जाने बताउँदा बताउँदै पनि होस्टेल सञ्चालक मधुले ती विद्यार्थीसँग एडभान्स भन्दै थप पैसा मागेपछि विद्यार्थीहरूले रकम नदिने बताएका थिए ।
त्यसपछि होस्टेल सञ्चालकले हातपात गरेको पीडित विद्यार्थीहरूले बताएका छन् ।
कलेज प्रमुख मेनुका भण्डारीले छात्राहरुमाथि अमानवीय व्यवहार भएको बताइन् । ‘हिजो बेलुका हामीले विद्यार्थीलाई कलेजको होस्टलमा ल्याएका छौं,’ भण्डारीले भनिन्, ‘अमानवीय व्यवहारका भिडियो प्राप्त भएको छ, सञ्चालकविरुद्ध हामी कानुनी उपचार खोज्छौं ।’
होस्टलमा अमानवीय व्यवहार भएको भिडियो बाहिरिएपछि होस्टल सञ्चालक मधु भने सम्पर्कमा आउन चाहिनन् ।














Discussion about this post