भोजपुर : भोजपुरको हतुवागढी ७ पिप्लेमा आगलागीबाट ज्यान गुमाएका बालबालिकाको परिवारलाई कोसी प्रदेश सरकारले एक लाखका दरले राहत रकम उपलब्ध गराएको छ ।
मुख्यमन्त्री केदार कार्कीले पीडितलाई समवेदना दिँदै ज्यान गुमाएका बालबालिकाका दुई परिवारलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट एक लाखका दरले राहत रकम हस्तान्तरण गरेका हुन् ।
राहत हस्तान्तरण गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले दुःखको समयमा सरकारले मलमपट्टी लगाएको उल्लेख गरे । ‘प्रदेश तथा स्थानीय सरकार घर आँगनकै सरकार भएकाले जनताको समस्यामा तथा पीडामा सधैँ साथ रहन्छ ।’ उनले भने ।
चेक हस्तान्तरण कार्यक्रममा भोजपुरबाट कोशी प्रदेशमा निर्वाचित सांसद विनोद बान्तवा राई, सृजना राई, कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेललगायत स्थानीय जनप्रतिनिधि सहभागी भएका थिए ।
शनिबार भएको आगलागीमा स्थानीय रमेश कार्कीका ५ वर्षिया छोरी दिप्सीका कार्की, ३ वर्षीय छोरा दिउनिष कार्की र केदार कार्कीका ४ वर्षीय छोरा प्रनिष कार्कीको ज्यान गएको थियो ।
मुख्यमन्त्री कार्कीको अपिल : सावधान र जिम्मेवार बनौँ
मुख्यमन्त्री कार्कीले अहिलेको समय हावाहुरीका साथै आगलागी बढी हुने भएकाले सावधान रहन अपिल गरेका छन् ।
एक सन्देश मार्फत उनले भनेका छन् ‘वन जंगलमा डढेलो लगाउने कार्य नगर्न, स–साना बालबालिका नजिक आगलागीजन्य वस्तुका साथै प्रज्वलनशील पदार्थ नराख्न, आगोको काम सकिएपछि पूर्ण रूपमा निभाउन, ग्यास तथा विद्युतीय सामग्रीहरू सावधानीपूर्वक प्रयोग गरी यस्ता घटना न्यूनीकरण गर्न सकिन्छ । विपद्को घटना हुनासाथ नजिकको प्रहरी कार्यालयको कन्ट्रोल १०० र दमकल सेवाका लागि १०१ मा जानकारी गराएर जिम्मेवार नागरिकको कर्तव्य निभाउनका लागि अनुरोध गर्दछु ।’















Discussion about this post