इटहरी : होली खेल्ने क्रममा ग्याङ फाइट हुँदा धरान र पाँचथरका युवकको ‘हत्या’ भएको छ । ललितपुर महानगरपालिका २६ ढोलाहिटीमा गएराति दुईजनाको हत्या भएको हो ।
राति ९ बजेको समयमा दुई समूहबीच ग्याङ फाइट हुँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले पुष्टि गरे ।
मृत्यु हुनेमा सुनसरीको धरान घर भइ हाल ढोलहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर जिल्ला घर भइ हाल खुमलटार बस्ने ३० वर्षीय पुजन राई रहेको प्रवक्ता सुवेदीले बताए ।
‘राति ११ बजे पाटन अस्पतालमा घाइतेलाई ल्याएपछि प्रहरीलाई जानकारी भयो। तत्कालै घटनास्थलमा खटिएर केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको छ । घटनाको कारण खुल्न सकेको छैन’, उनले भने।
घटनास्थलबाट धारिलो हतियार पनि बरामद भएको प्रवक्ता सुवेदीले बताए ।
प्रहरीले राति नै सिसिटिभी फुटेज हेरेर संलग्न व्यक्तिहरूको खोजी सुरु गरेको छ । होली खेल्ने क्रममा विवाद बढ्दै जाँदा यस्तो घटना हुन पुगेको प्रहरीको अनुमान छ ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले गएराति नै १८ जनालाई नियन्त्रणमा लिएको छ। शव पाटन र सुमेरु अस्पतालमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।














Discussion about this post