इटहरी : अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपमा त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ ।
इटहरी रंगशालामा बुधबार (आज) भएको खेलमा साबिक विजेता सगरमाथा युथ क्लब मोरङलाई पेनाल्टी सुटआउटमा २–१ गोल अन्तरले पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समयमा दुवै टिमबाट गोल नभएपछि खेल पेनाल्टीमा धकेलिएको थियो । पेनाल्टीमा आर्मीले २ गोल गर्दा सगरमाथाले १ गोल मात्रै ग¥यो ।
आर्मीका लागि रिपु भुलान र फत्तेमान घलेले गोल गरे । यसैगरी नवयुग श्रेष्ठ र जीतेन्द्र कार्कीको प्रहार सगरमाथाका गोल रक्षक प्रिसोले रोक्न सफल भए ।
सगरमाथाका लागि भने दिवाकर चौधरीले शान्तवना गोल गरे । सगरमाथाका प्रिसो, स्टेपेन समीर विनाङ र बिजु भुजेलको प्रहार आर्मीका गोल रक्षक विकेश कुथुले रोक्न सफल भए । यसैगरी विमल घर्ती मगरको प्रहार गोल पोस्टबाहिर गयो ।
आर्मी क्लब फाइनलमा प्रवेश गरेसँगै साबिकको विजेता रहेको सगरमाथा युथ क्लब मोरङ घर फर्किएको छ ।
यसअघि शनिबार भएको उद्घाटन खेलमा सगरमाथाले सशस्त्र प्रहरी बल (एपीएफ)लाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।
यसैगरी आर्मी क्लबले सोमबार राति सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा बिर्तामोड युनाईटेड झापालाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।
खेलको म्यान अफ दि म्याच आर्मीका गोल रक्षक विकेश कुथु घोषित हुँदै नगद १० हजार प्राप्त गरे । बिहीबारको अन्तिम सेमिफाइनल खेल आयोजक राष्ट्रिय जागृति क्लब र चर्च ब्वाइज क्लबबीच हुनेछ ।
राष्ट्रिय जागृति क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
यसैगरी सर्वाधिक गोलकर्ताले २५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ प्रदान गरिने छ । विभिन्न विधामा उत्कृष्ट हुनेले नगद २० हजार र प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले १० हजार पाउनेछन् ।















Discussion about this post