इटहरी : सुनसरीको चतरामा जारी कुम्भ मेलामा दर्शन गरेर फर्किदैँ गर्दा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भोजपुरको षडानन्द नगरपालिका १ नेपालडाँडा घर भएका २२ वर्षीय सुजन गौतम रहेका छन् ।
सोमबार राति प्रदेश १–०२–०४२ प ५०४९ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको थियो । प्रहरीका अनुसार बराहक्षेत्र नगरपालिका ५ जमटोकीस्थित बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएका गौतमलाई उपचारका लागि न्यूरो अस्पताल विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि मोटरसाइकलको पछाडि बस्ने २३ वर्षीय रुद्र लुइँटेल घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।
मृतक गौतम इटहरीस्थित दिदी भिनाजुको घरमा बस्दै आएका थिए । उनी मोरङको विराटचोकस्थित सुकुना बहुमुखी क्याम्पस स्नातक तहमा अध्ययन गर्दै आएका थिए ।














Discussion about this post