इटहरी : सुनसरी र मोरङको दुई छुट्टाछुट्टै स्थानबाट ६९० किलोग्राम लागूऔषध गाँजासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
मिनी ट्रकमा ठूलो परिमाणमा गाँजा लोड गरेर सुनसरीको देवागञ्जबाट साहेबगञ्जतर्फ लैजाँदै गरेको भन्ने विशेष सूचानाको आधारमा इलाका प्रहरी कार्यालय साहेबगञ्जबाट खटिएको प्रहरी टोलीले देवानगञ्ज गाँउपालिका ५ मेहेता टोलको भित्री सडक खण्डबाट को १ ख ७१२३ नम्बरको मिनी ट्रकलाई रोकेर चेकजाँच गर्ने क्रममा उक्त ट्रकबाट ४ सय ४० किलोग्राम गाँजा बरामद भएको थियो ।
ट्रकबाट गाँजा बरामद भएसँगै चालक भीमफेदी नगरपालिका १४ मकवानपुरका २५ वर्षीय चन्द्रबहादुर पाख्रिन, सोही ट्रकमा सवार रहेका लेटाङ नगरपालिका ६ मोरङका बलबहादुर लिम्बू र देवानगञ्ज गाउँपालिका ४ का ३० वर्षीय अरबिन्द पाललाई समेत प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले भारतीय रुपैयाँ एक लाख ५० हजार, नेपाली रुपैयाँ ५२ हजार र ५ थान मोबाइल सेटसमेत बरामद गरेको छ ।
यसैगरी विराटनगर महानगरपालिका १७ स्थित आइसीपी रोडमा काँचो केरा बोकेको प्रदेश १-०२-०२ च ६३३१ नम्बरको पिकअप भेनबाट केरासहित गाँजा अनलोड गर्दे गरेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उक्त पिकअप भेनबाट २५० किलोग्राम लागूऔषध गाँजा बरामद गरेको छ ।
गाँजा बरामद भएसँगै चालक शहिदभूमी गाँउपालिका ३ धनकुटाका १८ वर्षीय दिवस राईलाई समेत पक्राउ गरिएको छ ।
लागूऔषध गाँजासहित पक्राउ परेका उनीहरूको सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।














Discussion about this post