संखुवासभा : संखुवासभामा रहेको मकालु हिमाल आरोहण गर्ने क्रममा फ्रान्सेली पर्वतारोही ६० वर्षीय जोनी सालिबाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए।
मकालु गाउँपालिका–२ स्थित मकालु हिमाल आरोहण गर्ने क्रममा ८ हजार ३५० मिटरको उचाइमा पुगेको फ्रान्सेली नागरिक जोनी अचानक विरामी परेका थिए।
विरामी परेका फ्रान्सेली नागरिक जोनीलाई ८ हजार १२० मिटरमा झार्ने क्रममा आज विहान ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लामिछानेले बताए।
हिमाल आरोहण गर्ने क्रममा अचानक विरामी परेका फ्रान्सेली जोनीको ८ हजार १२० मिटर तल झार्ने क्रममा बाटैमा मृत्यु भएको निर्देशक भण्डारीले बताए।
मृतक पर्वतारोहीको शव निकाल्ने प्रयास भइरहेको उनको भनाइ छ। फ्रान्सेली पर्वतारोही जोनीको शव हेलिकप्टरमार्फत काठमाडौँ लग्ने तयारी भइरहेको भण्डारीले बताए।
उनीसँगै गएका अन्य फ्रान्सेली सदस्यहरू सकुशल रहेको बताइएको छ। घटनास्थल सदरमुकाम खाँदबारीबाट १२ दिनको पैदल दूरीमा पर्छ।
एक साताअघि मकालु आरोहण गरी ओर्लने क्रममा पर्वतारोही सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–४ बस्ने ५४ वर्षीय ल्हाक्पा तेन्जे शेर्पाको मृत्यु भएको थियो।
यातायात र सञ्चार सेवा नभएका कारण भौगोलिक रुपमा निकै विकट मानिन्छ। यस वर्ष नेपालले मकालु आरोहण गर्ने ५९ जना विदेशी आरोहीहरूलाई आरोहण अनुमति दिएको छ।















Discussion about this post