विराटनगर : विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीहरूले सरकारी गाडीमा आगजनी र तोडफोड गरेका छन् ।
आगजनी र तोडफोडबाट ६ वटा गाडीमा क्षति पुगेको छ । क्याम्पसको गेट अगाडि एउटा सरकारी गाडीमा आगजनी गरिएको छ । को १ झ ६४४ नम्बरको गाडीमा आगजनी गरिएको छ । आगो नियन्त्रणका लागि दमकल बोलाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै, विराटनगरको कञ्चनजंघा पार्टी प्यालेसमा पार्किङ गरेर राखिएका ५ वटा गाडीमा तोडफोड गरिएको छ । पार्टी प्यालेसमा विद्युत प्राधिकरणको कार्यक्रम थियो । कार्यक्रमका लागि पुगेकाहरूले प्रयोग गरेका विद्युत प्राधिकरणको गाडीहरू तोडफोड गरिएको हो ।
प्रहरीका अनुसार बा एबी ८१८०, बागमती प्रदेश ०१–०० ञ २७०१, बा १ ञ २४१९, बा ००१ ञ २९९० र बा १ ञ १८८७ नम्बरको गाडीमा तोडफोड गरिएको छ । पर्खाल नाघेर पार्टी प्यालेसभित्र छिरेको अन्दाजी ९ जनाको समूह गाडी तोडफोड गरेर फरार भएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार सरकारी गाडीमा आगजनी र तोडफोड गर्ने खोजी भइरहेको छ । मोरङको रंगेलीमा पक्राउ परेका विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियु (स्वतन्त्र विद्यार्थी युुनियन) र नेपाल विद्यार्थी संघ (नेविसंघ)का सदस्य दीपक यादवलगायतलाई विद्यार्थीलाई छाड्नुपर्ने लगायतका माग राखेर गाडीमा आगजनी र तोडफोड गरिएको हुनसक्ने प्रहरीको अनुमान छ ।














Discussion about this post