उदयपुर : त्रियुगा नगरपालिका-१४ स्थित साउनेको हाडेथुम्कास्थित गाईघाट-दिक्तेल सडक गएराति खसेको पहिरोले आज बिहानदेखि अवरुद्ध भएको छ ।
त्रियुगा-१४ का वडा अध्यक्ष हेमराज मगरका अनुसार साउनेको गाईघाट-दिक्तेल सडकअन्तर्गत हाडेथुम्काको डाँडाबाट पहिरो खसेका कारण सडक पुरिएको हो ।
सडक अवरुद्ध हुँदा सदरमुकाम गाईघाट भएर खोटाङको दिक्तेललगायत पहाडी क्षेत्रतर्फ हिँडेका सवारी साधन रोकिएका छन् ।
यस्तै, खोटाङबाट उदयपुरको गाईघाट हुँदै विराटनगर, धरान, इलाम धनकुटा हिँडेका सवारी साधन पनि बिहानदेखि सडक अवरुद्ध भएपछि रोकिएका छन् ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले अहिले अवरुद्ध सडक खुलाउनका लागि गाईघाट-दिक्तेल सडक कार्यालय र त्रियुगा नगरपालिकासँग समन्वय गर्ने कार्य भइरहेको बताउनुभयो ।
नगरप्रमुख वसन्त बस्नेतका अनुसार पहिरो खसेको खबर पाउनेबित्तिकै नगरपालिकाका प्राविधिक र डोजर अवरुद्ध सडक खुलाउन त्यसतर्फ परिचालन गरिसकिएको छ ।
आज बिहान ४ बजेतिर पहिरो खसेर सडक अवरुद्ध भएको स्थानीय ज्ञानेन्द्र मगरले बताउनुभयो ।














Discussion about this post