इटहरी : इटहरीमा रहेको जनता माध्यमिक विद्यालयको कक्षा ११ मा भर्ना हुने विद्यार्थीको भीड लागेको छ ।
विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान विषयमा विद्यार्थीको आकर्षण बढेको छ । कक्षा १० सम्म सिट क्षमताको तीन गुणा विद्यार्थीले फर्म भरेको जनता स्कुलमा कक्षा ११ र १२ मासमेत विद्यार्थीहरूको आकर्षण तीव्र रहेको विद्यालयले जनाएको छ ।
‘केही दिनयता मात्र दर्जनौं विद्यार्थी र अविभावक पढाइबारे बुझ्न आउनुभएको छ,’ विद्यालयका प्रधानाध्यापक पशुपति सिग्देलले भने, ‘विद्यार्थी र अविभावकहरूको यो आकर्षणले हामीलाई उत्साहित बनाएको छ ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालले यो वर्ष कक्षा ११ मा एक हजार विद्यार्थी भर्ना लिने गरी तयारी गरेको बताए ।
उनले विद्यार्थी र अविभावकको आकर्षणसँगै पूर्वाधार विकास अनि गुणस्तर सुधारलाई सँगसँगै लगिएकाले विद्यार्थीहरूको आकर्षण बढेको जनाए ।
विद्यालयले यो वर्षदेखि ९ कोठाको सुविधासम्पन्न साइन्स ल्याब सञ्चालनमा ल्याउन लागेको उनको भनाइ छ । कम्प्युटर ल्याब, लाइब्रेरीहरू यसअघि नै सञ्चालनमा आइसकेको र विद्यालयमा शिक्षा, मानवीकी, कम्प्युटर साइन्ससहितको व्यवस्थापन, विज्ञान र कानुन विषय पढाइ हुने दंगाल बताउँछन् ।
५ वर्षअघि १२ वटा कक्षा कोठाको विद्यालय अहिले ७६ वटा कोठामा विस्तार भएको छ । यस्तै, ३२ जना शिक्षकशिक्षिका तथा कर्मचारी रहेकोमा अहिले एक सय ४८ जना पुगेका छन् । विद्यार्थी पनि ७७४ जनाबाट बढेर अहिले तीन हजार दुई सय भन्दा बढी रहेको विद्यालयको दाबी छ ।
विद्यार्थी आवतजावतका लागि तीन वटा बस छन् । नेपाली र अंग्रेजी दुवै माध्यमबाट पठनपाठन हुने गरेको छ ।
कक्षा कोठाहरू प्रोजेक्टर, डिजिटल बोर्डसहित अत्याधुनिक र व्यवस्थित रहेको र सुविधाको हिसाबमा कुनै कमी कमजोरी नभएको विद्यालयका शिक्षक शिवराज दाहाल बताउँछन् । यस्तै, शिक्षकहरूसमेत दक्ष र अनुभवी रहेको उनको भनाइ छ ।
एनजी ल्याउने सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई निःशुल्क कोचिङ
यसैगरी जनता स्कुलले सामुदायिक विद्यालयबाट एनजी प्राप्त गरेका विद्यार्थीहरूलाई निःशुल्क कोचिङ पढाउने भएको छ ।
पूरक परीक्षाको तयारीका लागि कक्षा सञ्चालन गर्ने भएको हो । जुनसुकै सामुदायिक विद्यालयका विद्यार्थीहरूले एनजी ल्याएको भए जनता माविको निःशुल्क कोचिङमा सहभागी हुन सक्ने दंगालले बताए ।
सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्नका लागि सामाजिक दायित्वअन्तर्गत विद्यालयले यस्तो कार्यक्रम अघि बढाएको हो । यसअन्तर्गत विज्ञान, गणित, ऐच्छिक गणित र ऐच्छिक अर्थशास्त्र विषयमा कोचिङ कक्षा सञ्चालन गरिनेछ ।
विद्यालयका प्रिन्सिपल र अध्यक्षलाई अन्तर्राष्ट्रिय अवार्ड
विद्यालयले केही समयअघि प्रदेश सरकारबाट सुनसरीको नमुना विद्यालयको रूपमा पुरस्कारसमेत प्राप्त गरेको थियो ।
यसैगरी दंगाललाई केही दिनअघि कम्बोडियामा बेस्ट मेनेजमेन्ट स्कुल अफ दि इयर अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गरिएको थियो ।
यस्तै, सिग्देललाईसमेत एजुकेशनल पर्फर्मेन्स २०२४ अवार्डबाट सम्मानित गरिएको थियो । जनता स्कुलको राम्रो व्यवस्थापन र राम्रो शैक्षिक कार्यक्रम सञ्चालन गरेवापत दंगाल र सिग्देलले यो सम्मान पाएको जनाइएको छ ।
– ADVT
















Discussion about this post