विराटनगर : विराटनगरबाट एक सय दुई किलोग्राम गाँजासहित एउटा कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कारमा राखेर गाँजा ओसारपसार गर्ने तीनजनालाई पक्राउसमेत गरिएको प्रहरीको भनाइ छ ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले कारबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको हो ।
मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार विराटनगर महानगरपालिका–४ इक्राहीस्थित भित्री सडक खण्डमा बा ६ च ४६८९ नम्बरको कारलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा लागूऔषध गाँजा फेला परेको हो ।
कारमा गाँजा ओसारपसार भइरहेको सूचना आउनसाथ नियन्त्रणमा लिन एसपी कार्कीले टोली परिचालन गरेका थिए । प्रहरीले आइतबार दिउँसो गाँजा ओसारपसारमा संलग्न तीनजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कार चालक मोरङको केराबारी गाउँपालिका–५ का ३६ वर्षीय सुरेश लिम्बू, धनकुटाको साँगुरीगढी गाउँपालिका–२ का ३४ वर्षीय सुभाष नोयोहाङ र सुनसरीको धरान उपमहानगरपालिका–१३ की ४२ वर्षीया लक्ष्मी राई विक रहेका छन् ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















Discussion about this post