इटहरी : कोशी प्रदेशका पूर्वमन्त्री तथा वर्तमान सांसदसहित ११ जनालाई प्रहरीले जुवा खालबाट पक्राउ गरेको छ ।
पूर्वमन्त्री एवं हालका प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीसहित ११ जनालाई प्रहरीले जुवाखालबाट पक्राउ गरेको हो । सोलुखुम्बुका राजभण्डारी सत्तारुढ नेकपा एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । प्रदेशसभाको अघिल्लो कार्यकालमा एमाले कोशी प्रदेशका प्रमुख सचेतकसमेत थिए ।
काठमाडौं सिनामंगलस्थित एक होटलमा जुवा खेलिरहेको अवस्थामा शनिबार राति प्रहरीले राजभण्डारीसहित ११ जनलाई पक्राउ गरेको हो । काठमाडौं प्रहरीका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले होटलमा छापा हानेर पक्राउ गरेको हो ।
राजभण्डारीसहित, सोलुखुम्बुको सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष वीरबहादुर राई, सोताङ गाउँपालिकाका कार्यपालिका सदस्य उत्तमकुमार राई, कलाकार पुरुषोत्तम शर्मा, अनिष तामाङ, ठूला तामाङ, दीपक खड्का, भीमबहादुर साम्बाहाम्फे, महेश किराती, रवि श्रेष्ठ, राजु महत र माधव थापा पक्राउ परेको एसपी अधिकारीले जानकारी दिए। पक्राउ पर्नेमध्ये पुरुषोत्तम शर्मा टेलिसिरियल ’सक्किगो नि’ का कलाकार हुन् ।
प्रहरीले जुवा खालबाट एक लाख नगदसहित उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ । स्रोतका अनुसार सत्तारुढ दलका नेता जुवा खालबाट पक्राउ परेपछि छाड्न प्रहरीलाई ठूलो दबाब परेको छ ।













Discussion about this post