विराटनगर : झापा, मोरङ र सुनसरीको विभिन्न स्थानबाट भन्सार छली गरी नेपाल भित्र्याउँदै गरेको रेडिमेड कपडा लगायत विभिन्न प्रकारको सामग्रीहरू प्रहरीले बरामद गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तर्गत चाडपर्व विशेष सुरक्षा योजनाअनुसार असोज ६ गते जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यलय धुलाबारीबाट परिचालन भएको प्रहरी टोलीले झापाको मेचीनगर नगरपालिका १० स्थितमा सवारी साधनहरू चेकजाँचको क्रममा करिब ५८ हजार पाँच सय मूल्य बराबरको विभिन्न प्रकारका रेडिमेड कपडा र मेचीनगर नगरपालिका ६ स्थितमा नेपालबाट भारततर्फ अवैध रूपमा लैजादैँ गरेको करिब दुई लाख बराबरको लसुन नियन्त्रणमा लिएको छ ।
यसैगरी सुनसरीको इलाका प्रहरी कार्यालय दुहबीले, दुहबी नगरपालिका ३ र १० स्थितबाट भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको दुई लाख तीन हजार ६ सय ५० रुपैयाँ मूल्य बराबरको रेडिमेड कपडा बरामद गरेको छ ।
उता, विराटनगर महानगरपालिका १५ स्थितबाट इलाका प्रहरी कार्यालय रानीले रेडिमेड कपडा र लसुनसमेत गरी एक लाख ६ हजार मूल्य बराबरको सामग्री बरामद गरेको छ ।
बरामद गरिएका सामग्रीहरू सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको प्रहरीको भनाइ छ ।














Discussion about this post