एकीकृत सरकारी कर्मचारी सङ्गठन नेपालले दसैँ तिहारपछि रिले अनसन बस्ने घोषणा गरेको छ ।
सङ्गठनको केन्द्रीय कार्यसमितिको चौथो पूर्ण बैठकले सङ्घीय निजामती ऐन जारी गराउन दबाब दिन दसैँ तिहारपछि रिले अनसन गर्ने निर्णय गरेको हो । सोमबार पत्रकार सम्मेलन गर्दै रिले अनसन बस्ने घोषणा गरिएको सङ्गठनका महासचिव प्रकाश राईले जानकारी दिए ।
संघीयता कार्यान्वयनको नौ वर्ष पुग्दा पनि सङ्घीय निजामती सेवा ऐन जारी हुन नसकेको भन्दै सङ्गठनले दबाब दिन तिहारपछि प्रत्येक हप्ताको शनिबार रिले अनसन बस्ने निर्णय भएको उनले बताए ।
भदौ महिनामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको सरुवा पूर्वाग्रही, हचुवा, विधि विपरीत भएकाले मापदण्ड विपरीतका सरुवा संशोधन एवम् बदर गर्न माग गरेको छ ।
असोज २ र ३ गते अध्यक्ष यामबहादुर खत्रीको अध्यक्षता सम्पन्न बैठकले ५१ बुँदे विशेष प्रस्तावहरू सुझावसहित पारित गरेको थियो ।
सामाजिक सुरक्षा कोषमा आबद्धताको ग्यारेन्टी, चालक बीमा, महँगी भत्ता लगायत सुविधा करार कर्मचारीलाई उपलब्ध गराउन समेत माग गरेको छ ।
संघीय निजामती ऐन जारी गराउन दशैं तिहारपछि रिले अनसनको सुरुआत गर्ने, सरुवा प्रणालीका सम्बन्धमा स्थानीय तह र प्रदेश सरकारमा कार्यरत कर्मचारीहरूको अन्तरप्रदेश, अन्तर स्थानीय तहको सरुवा साथै अन्तरप्रदेश सरुवाको सुनिश्चिताको पक्षमा संगठन रहेकोसमेत महासचिव राईले बताए ।
यसैगरी करार सेवाको समस्या समाधानका अल्पकालीन र दीर्घकालीन समाधानका उपायहरूका दृष्टिकोण संगठनले अगाडि सार्दै समधानका लागि दृढताका साथ निरन्तर माग गरिदैँ आएकोसमेत उनको भनाइ छ ।












Discussion about this post