इटहरी : इलामको माई नगरपालिका ८ सेते खोलाले बगाएर एकजना बृद्धको मृत्यु भएको छ भने झापा र मोरङमा चार जना बेपत्ता भएका छन् ।
माई नगरपालिका ८ का ६८ वर्षीय मैतबहादुर लिम्बुको खोला तर्ने क्रममा बगाएको अवस्थामा स्थानीय मानिसहरूले उद्धार गरी उपचारको लागि लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
यता, झापाको कचनकवल गाउँपालिका १ स्थित जमुवा खोला तर्ने क्रममा स्थानीय पन्चु राजवंशीकी १४ वर्षीया छोरी नेहारिका राजवंशीलाई बगाएर बेपत्ता बनाएको छ ।
यसैगरी कमल गाउँपालिका १ का ३५ वर्षीय टीकाराम चौधरी कृष्ने खोलामा माछा मार्ने क्रममा खोलामा डुबेर बेपत्ता भएका छन् भने गौरीगञ्ज गाउँपालिका २ स्थित सुकुमबासी टोलका ५५ वर्षीय केनालाल राजवंशी घर नजिकै रहेको कृष्णे खोलामा बेपत्ता भएका छन् ।
यसैगरी मोरङको रतुवामाई नगरपालिका ७ की ७२ वर्षीया डुरोदेवी राजवंशी झापाको गौरादहबाट मोरङको सिजुवा आउने क्रममा रातुवा खोला तर्दा खोलाले बगाएर बेपत्ता भएकी छन् । उनी बिहीबारदेखि बेपत्ता भएकी हुन् ।
बेपत्ता भएकाहरूको खोजी कार्य भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।














Discussion about this post