धरान : धरान उपमहानगरपालिका ९ र ११ स्थितबाट ठूलो परिमाणमा निषेधित औषधीसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार बेलुका लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान ९ स्थितमा कोठाभाडामा बस्दै आएका ३१ वर्षीय सुरज गुरुङलाई पक्राउ गरेको हो ।
धर्मदेवी नगरपालिका ८ संखुवासभा घर भइ सो स्थानमा बस्दै आएका उनको कोठा खानतलासी गर्दा दुई वटा जेब्रा झोलामा लुकाईछिपाई राखेको अवस्थामा निषेधित औषधी ट्रामानिल सात हजार आठ सय ६० क्यापसुल र स्पास्मो आठ हजार चार सय ३० चक्की बरामद गरेको हो ।
यसैगरी अस्थायी प्रहरी विट जोरसखुवाको प्रहरी टोलीले चेकजाँचको क्रममा धरान ११ का २९ वर्षीय देवराज भुजेललाई ट्रामानिल एक हजार एक सय ९० क्याप्सुल र स्पासरेष्ट १ हजार क्याप्सुलसहित पक्राउ गरेको छ ।
उता, मोरङ कानेपोखरी ६ का १९ वर्षीय अर्जुन सुन्दासलाई निट्राजेपाम ४० चक्कीसहित लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ परेकाहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post