इटहरी : मोरङमा २३ वर्षीया युवतीमाथि हात, खुट्टा र मुखमा पट्टी बाँधेर बलात्कार भएको आशंका गरिएको छ ।
मंगलबार दिउँसो साढे १२ बजेतिर हात, खुट्टा बाँधिएको अवस्थामा युवती अचेत भेटिएपछि बलात्कार भएको हुनसक्ने आशंका गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता, डीएसपी वेदप्रकाश जोशीका अनुसार जिल्लाको कटहरी २ स्थितमा युवती अचेत अवस्थामा भेटिएकी थिइन् ।
खेतको छेउमा रहेको बाँसको झ्याङ नजिकै हात, खुट्टा बाँधेको र मुखमासमेत पट्टी बाँधेको अवस्थामा युवतीलाई अचेत अवस्थामा फेला पारिएको जोशीले बताए ।
‘स्थाीयले प्रहरीलाई खबर गरेपछि तत्कालै प्रहरी घटनास्थलमा पुगेर उद्धार गरेको थियो,’ जोशीले भने, ‘हामीले घटनास्थलबाट उद्धार गरी पीडितको उपचारका लागि कोसी अस्पताल विराटनगरमा भर्ना गरेका छौँ ।’
घटनाको प्रकृति हेर्दा बलात्कार भएको हुनसक्ने उनले बताए । ‘घटनाको प्रकृति हेर्दा बलात्कार भएकोजस्तो देखिन्छ । यद्यपि, हो नै भन्न सक्ने अवस्था छैन,’ उनले भने, ‘स्वास्थ्य परीक्षणको रिपोर्ट र थप अनुसन्धानपछि वास्तविकता खुल्छ ।’
उनको स्वास्थ्यमा अहिले केही सुधार आएको छ । बलात्कारको अनुमान गरिएपनि अस्पतालको रिपोर्ट नआइकन प्रहरीले यसै भन्न नसक्ने उनको भनाइ छ । ‘हामीले अनुसन्धान गरिरहेका छौँ । सबै डिटेल आएपछि तथ्य सार्वजनिक गर्छौँ,’ उनले भने ।
घटनाबारे सुक्ष्म किसिमबाट अनुसन्धान तीव्र पारिएको उनले जनाए ।
पीडित युवतीकी मंगलबार बिहान घरबाट मर्निङ वाकका लागि निस्किएपछि दिउँसोसम्म नफर्किएपछि खोजी गरिएको थियो । स्थानीले बाँसघारीमा भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले घटनास्थलबाट स्थानीयसहित, जनप्रतिनिधिको रोहबरमा मुचुल्का उठाएको थियो ।














Discussion about this post