मोरङ : मोरङमा युवतीमाथि बलात्कार भएको घटनामा संलग्न रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा कटहरी २ बस्ने १९ वर्षीय मोहम्मद रमजान, सोही ठाउँ बस्ने १९ वर्षीय सोनु कुमार साह र भारतको अररिया जिल्ला कुशाकट्टा बस्ने १९ वर्षीय मोहम्मद गुल्जार रहेका छन् ।
मंगलबार दिउँसो मोरङको कटहरी २ स्थितमा २३ वर्षीया युवती अचेत अवस्थामा भेटिएकी थिइन् । हात, खुट्टा बाँधिएको अवस्थामा उनी अचेत भेटिएपछि बलात्कार भएको हुनसक्ने आशंका गरिएको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेकामध्ये रमजानले ती युवतीमाथि बलात्कार गरेको र अन्य दुईजनाले भने हात, खुट्टा बाँध्न सघाएको खुलेको छ ।
‘घरदेखि केही पर गएको अवस्थामा अचानक मुख थुनेर सिटी सफारीमा राखेर बाँस घारीमा लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ प्रहरी स्रोतले भन्यो, ‘घटनामा संलग्नमध्ये एकजनाले जबरजस्ती करणी गरेको र दुईजनाले हात, खुट्टा बाँध्न सघाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’
पीडित युवतीको विराटनगरस्थित कोसी अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।
पीडितको स्वास्थ्य परीक्षण लगाएतको कार्य भइसकेको र रिपोर्ट आएपछि थप अनुसन्धान हुने प्रहरीको भनाइ छ । प्रहरीले घटनाबारे विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ ।
पक्राउ परेका तीनैजनामाथि बुधबार जिल्ला अदालत मोरङबाट म्याद थप गरी अनुसन्धान गर्ने तयारी गरेको छ ।














Discussion about this post