इटहरी : इटहरीस्थित जनता माध्यमिक विद्यालयले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा आफ्नो ६८ औं वार्षिकोत्सव मनाएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गर्दै भण्डारीको प्रमुख आतिथ्यतामा विद्यालयले आफ्नो स्थापना दिवस मनाएको हो ।
कार्यक्रममा बोल्दै भण्डारीले नेपाल सरकारले शिक्षा क्षेत्रमा उल्लेखनीय लगानी गरेको बताइन् ।
यद्यपि, शैक्षिक प्रणालीमा अपेक्षित सुधार भने हुन नसकेको उनको भनाइ छ । उनले जनता माविले हजारौं सक्षम, इमान्दार र अनुशासित विद्यार्थी उत्पादन गरेको उल्लेख गर्दै विद्यालयप्रति कृतज्ञतासमेत व्यक्त गरिन्।
जनता माध्यमिक विद्यालयले आगामी शैक्षिक सत्रदेखि आमसञ्चार, कानून, र इन्जिनियरिङजस्ता विषयहरू पठनपाठनमा समावेश गर्ने योजना बनाएको र उक्त योजना सफलताका लागि शुभकामना दिँदै विद्यालयको प्रयासलाई प्रशंसा गरिन्।
सोही कार्यक्रमको अवसर पारेर विद्यालयको नवनिर्मित १२ कोठे भवनको उद्घाटनसमेत गरिएको थियो ।
कार्यक्रममा पूर्व मन्त्री एवम् प्रतिनिधिसभा सदस्य भगवती चौधरी, कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई, प्रदेशसभा सदस्य मीना श्रेष्ठ, सपना परियार, इटहरीका मेयर हेमकर्ण पौडेल, उपमेयर साङ्गीता चौधरी, वडाध्यक्षहरूलगायत सहभागी रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालले बताए ।












Discussion about this post