विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पाँच वर्षको रणनीतिक योजना बनाएर नेपालको पर्यटन क्षेत्रमा लगानी गर्ने हो भने नेपालले छिट्टै नै विकास र समृद्धि हासिल गर्ने बताएका छन् ।
नेपाल उद्योग तथा व्यवसायी महासङ्घ कोशी प्रदेश कमिटीका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले पर्यटनको सम्भावना र अवसरको बारेमा बताएका हुन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा उनले नेपालको छिमेकी मुलुक भारत र चीनमा विश्वको ४० प्रतिशत जनसङ्ख्या रहेको उल्लेख गर्दै त्यहाँका मानिसहरूलाई नेपालमा आकर्षित गर्न सके पर्यटनबाट विकास र समृद्धि हासिल गर्न सकिने बताए ।
उनले नेपालको पूर्वाधार क्षेत्रमा पाँच वर्ष मेहनतका साथ रणनीति बनाएर अघि बढे १० वर्षभित्रमा दुई छिमेकी मुलुकबाट मात्रै एक करोड पर्यटक भित्र्याउन सकिने बताए ।
नेपालको राष्ट्रिय पुँजी विकास गर्नका लागि पर्यटन नै महत्वपूर्ण आधार रहेको चर्चा गर्दै उनले नेपालको धार्मिक पर्यटन र प्राकृतिक पर्यटनको प्रचुर सम्भावना रहेको सुनाए ।
नेपाल शान्तिप्रिय र सुरक्षित रहेको सन्देश दिन सक्यौँ भने हामी समृद्धितर्फ अगाडि सजिलै बढ्छौं, मुख्यमन्त्री कार्कीले भने।
सो अवसरमा उनले सरकारले प्रदेश सरकारले गर्न लागेको लगानी सम्मेलन सफल पार्न पनि आह्वान गरे ।
कार्यक्रममा नेपाल उद्योग तथा व्यवसाय महासंघ कोशी प्रदेश कमिटीका नवनिर्वाचित अध्यक्ष माधवराज थापाले उद्योगी व्यापारीका विविध समस्याका बारेमा आफ्ना धारणा राखे ।
Discussion about this post