इटहरी : अल्टिट्यूड क्लबको आयोजनामा भएको दोस्रो अल्टिच्यूड रनिङ कप २०८१ को उपाधि इटहरीको तालतलैया फूटबल क्लबले हात पारेको छ ।
रामधुनी नगरपालिका ७ स्थित पञ्चायन खेल मैदानमा सम्पन्न फाइनल खेलमा विजय उराउको २ गोलसँगै तालतलैयाले उपाधि हात पार्न सफल भएको हो। खेलको पाँचौ मिनेटमा सिजल राईको असिष्टमा विजयले गोल गर्दै टिमलाई अग्रता दिलाए ।
त्यसैगरी खेलको ८८ औँ मिनेटमा आरेष चौधरीको असिस्टमा विजयले पुनः अर्को गोल गर्दै जीत सुनिश्चित गराएका हुन् ।
खेलको ६३ औं मिनेटमा किरन शंकरले गोल गर्दै लेटाङ फुटबल क्लबका लागि अग्रता छोट्याएका थिए । त्यसपश्चात दुवै तर्फबाट गोल हुन नसक्दा २–१ को अवस्थामा तालतलैयाले उपाधि चुमेको हो ।
विजेता टोली तालतलैया फुटबल क्लबले नगद दुई लाख २२ हजार दुई सय २२ रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता लेटाङले एक लाख ११ हजार एक सय ११ रुपैयाँमा चित्त बझुाएको छ ।
प्रतियोगितामा विधागततर्फ पनि तालतलैयाकै वर्चश्व रह्यो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तालतलैयाका सविन घिमिरे, उत्कृष्ट गोल रक्षक नीरज चौधरी, सर्वाधिक गोलकर्ता विजय उराउ, उत्कृष्ट फरवार्ड सिजल राइ, उत्कृष्ट मिडफिल्डर निवस फुयाल घोषित भए ।
बेस्ट डिफेन्डर भने लेटाङका राजु मगर बने ।
खेलको म्यान अफ दि म्याच भने लेटाङका खमीर गिल्सन घोषित भए । प्रतियोगितामा उदयीमान खेलाडी आयोजक अल्टिट्यूड क्लबका अनिष राजधामी घोषित भए । सबै खेलाडीले समान दुई हजार पाँच सय प्राप्त गरे ।
तालतलैया फुटबल क्लबलाई उपाधि चुम्नका निम्ति प्रशिक्षक सजीवन राईले भूमिका खेलेका थिए । उनले अनुभवी खेलाडी भन्दा उदयीमान खेलाडीलाई प्राथामिकतामा राखेको बताए ।
Discussion about this post