मोरङ : मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्षले उपाध्यक्ष र वडाध्यक्षका सवारीसाधनको चाबी खोसेका छन् ।
कार्यपालिका बैठकमा राखिएका ६ मध्ये दुई प्रस्तावमा असहमति जनाएका कारण गाउँपालिका अध्यक्ष नमोनारायण माझीले उपाध्यक्ष गुणवतीदेवी थारुसहित वडाध्यक्षका सवारीको चाबी खोसेका हुन् ।
गाउँ कार्यपालिकाको निर्णयविरूद्ध उपाध्यक्षसहित वडाध्यक्ष अदालत पुगेपछि अध्यक्ष माझीले सवारीसाधनको चाबी खोसेका हुन् ।
गत माघ ३० गते बसेको कार्यपालिका बैठकमार्फत लोहन्द्रा खोला ठेक्का पाएर पनि सम्झौताका लागि नआएका ठेकेदारको धरौटी जफत गरी कालो सूचीमा राख्न सिफारिस गर्ने र नयाँ ठेक्का आह्वान गर्ने निर्णय गाउँपालिकाले गरेको थियो ।
गत मंसिर १६ मा भएको उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट उमेदवार बनेर माझी अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
कार्यपालिका बैठकमा राखिएका ६ मध्ये २ प्रस्तावमा असहमति जनाएका कारण सवारीको चाबी खोसिएको उपाध्यक्ष चौधरीले बताइन् ।
उनका अनुसार बहुपोषण कार्यक्रम र लोहन्द्रा खोला ठेक्काको विषयमा असहमति जनाएपछि बैठक स्थगित गर्दै अध्यक्षले सहयोगी खटाएर सवारीको चाबी खोसेका हुन् ।
माघ २९ गतेको कार्यपालिका बैठकका निर्णय पनि कार्यान्वयन गर्न उच्च अदालत विराटनगरले रोक लगाएको छ ।
कार्यपालिका सदस्यलाई तीन दिनअगाडि नै बैठकको सूचना नगरी अल्पमतका आधारमा निर्णय गरेको भन्दै उपाध्यक्ष थारुले अदालतमा रिट दायर गरेकी थिइन् ।
ग्रामथान–२ का वडाध्यक्ष यादव खतिवडाको मोटरसाइकलको चाबीसमेत खोसिएको छ ।
Discussion about this post