तरहरा : दोस्रो तरहरा अर्गानिक १० किलोमिटर दौडमा दुई हजार बढी धावक दौडिएका छन् ।
शनिबार तरहरामा सुरू भएको १० किलोमिटर दौडमा नेपालका विभिन्न जिल्लासहित देशबाहिरबाट पनि धावकहरू दौडिएका हुन् ।
तरहरा चोकबाट सुरू भएको दौड प्रतियोगिता ब्रम्हपुर, भवानीपुर, अमाहा, कराइबन हुँदै इटहरी १ को वडा कार्यालय नजिकैबाट आँपगाछी निस्किएर पुनः तरहरा चोक नै पुगेपछि १० किलोमिटर दौड पूरा भएको थियो । दौड पूरा गर्ने सबैलाई मेडल प्रदान गरिएको छ ।
साथै, विजेताहरूलाई नगदसहित पुरस्कारसमेत प्रदान गरियो । प्रतियोगिता विभिन्न आठ वटा विधामा निर्धारण गरिएको थियो ।
१२ वर्षभन्दा कम उमेर समूहका बालबालिकाहरू ३ किलोमिटर दौडमा सहभागी भए । यसैगरी १६ वर्षभन्दा कम उमेर समूहका बालबालिकाहरू १० किलोमिटर दौडमा सहभागी भए ।
१६ देखि ४० वर्ष उमेर समूहकाहरू १० किलोमिटर, ४० देखि ६० वर्ष उमेर समूहकाहरू १० किलोमिटर र ६० वर्षदेखि माथि ७५ वर्ष उमेर समूहकाले पनि १० किलोमिटर दौडमा सहभागी भएका थिए ।
यसैगरी स्पाइनर इन्जुरी भएकाहरूको समूहले एक किलोमिटर दौडमा सहभागी भए ।
यस्तै, गृहिणी तथा पारिवारिक रमाइलो दौडमा तीन किलोमिटर र विदेशमा रहेकाहरूले १० किलोमिटर दौडमा सहभागी भएको तरहरा रनका अध्यक्ष शिवु रुम्दाली राईले जानकारी दिए ।
क्षमतावान खेलाडीहरूको पहिचान गरी उनीहरूलाई संरक्षण गर्न र समाजलाई दौडसँग जोड्न उक्त प्रतियोगिता आयोजना गरिएको उनले जनाए ।
प्रतियोगितामा दुई हजार भन्दा बढी धावक, धाविकाहरू सहभागी भएको राईले बताए । विजेताहरूलाई इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल, इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठलगायतले पुरस्कार प्रदान गरे ।
Discussion about this post