इटहरी (डेस्क) : इलाममा १३ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
जिल्लाको माई नगरपालिका–४ की एक बालिकालाई माई–२ का २४ वर्षीय केशव गिरीले चैत ६ गते बलात्कार गरेको प्रहरीलाई जानकारी आएको थियो ।
गिरीले माई २ को सितलीस्थित चिया बगानमा १३ वर्षीया बालिकालाई प्रलोभनमा पार्दै डर, धम्की देखाएर बलात्कर गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनापछि प्रहरी चौकी दानाबारीबाट प्रहरी टोली खटिएर खोजतलास गर्दा गिरी फरार भएका थिए । उक्त घटनाको ढाकछोप गर्नका निम्ति पैसा दिएर मिलाउन खोज्ने प्रयास समेत भएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार आफूलाई प्रभाव र दबाबमा पार्दै घटना मिलाउन खोजेको भन्दै पीडित परिवारले चैत ९ गते जिल्ला प्रहरी कार्यालय इलाममा जाहेरी दिएपछि प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
घटनाको ढाकछोप गर्न पीडितलाई तीन लाख रुपैयाँ नगद दिएर मिलाउन खोज्ने पीडकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बलात्कारमा संलग्न इलाम माई नगरपालिका–२ बस्ने २४ वर्षीय केशव गिरी, उनका बुबा ५८ वर्षीय केदारनाथ गिरी, काका ४३ वर्षीय नारायण गिरी र छिमेकी ३८ वर्षीय तुलाधर अर्याल रहेका छन् ।
अर्यालले पीडित पक्षलाई तीन लाख रुपैयाँ दिएकोसमेत खुलेको छ ।
पक्राउ परेका चारै जनालाई जिल्ला अदालत इलामबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ ।
Discussion about this post