इटहरी : १२ जना नेपाली महिलाले ‘ग्रेट हिमालयन ट्रेल’को सय दिने पदयात्रा अन्तर्गत कञ्चनजङ्घा आधार शिविरमा पुगेका छन् ।
विश्वकै सबैभन्दा लामो तथा चुनौतीपूर्ण पदमार्गमध्ये नेपालको ‘ग्रेट हिमालयन ट्रेल’ (जीएचटी)को एक सय दिने पदयात्रा अन्तर्गत १२ जना नेपाली महिला कञ्चनजङ्घा आधार शिविर पुगेका हुन् ।
सिन्धुपाल्चोककी माया गुरुङको नेतृत्वमा अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भ पारेर पदयात्रा सुरू गरिएको थियो ।
१७ हिमाली जिल्लामा फैलिएको ‘ग्रेट हिमालयन ट्रेल’को पदयात्राको टोली अहिले कञ्चनजङ्घा आधार शिविर पुगेर फर्किएको छ । अब उक्त टोली ताप्लेजुङको घुन्सा नाङ्लो पास, ओलाङचुङगोला ‘सेन्जेमा’ ताल हुँदै टिप्ताला नाकाबाट अगाडि बढ्नेछ ।
यसअघि घुन्सामै पुगेर दीप प्रज्वलन गरी कञ्चनजङ्घा आधार शिविरतर्फ पदयात्रामा निस्किएको टोलीले स्थानीय समुदाय, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य लिइएको गुरुङले बताइन् ।
‘स्थानीय समुदाय, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने हाम्रो मुख्य उद्देश्य हो,’ गुरुङले भनिन्, ‘आज घुन्सामा आइपुगेका छौँ । यससँगै कञ्चनजङ्घा आधार शिविरको यात्रा सफल भएको छ ।’
उनका अनुसार टोलीमा पर्यटन क्षेत्रमा केही वर्षदेखि गाइड, भरियालगायतको भूमिकामा आबद्ध १९ वर्षदेखि ४५ वर्षसम्मका महिला छन् ।
ताप्लेजुङदेखि दार्चुलासम्म फैलिएको कम्तीमा एक हजार सात सय किलोमिटर लामो यो पदमार्ग विकटता, उचाइ, मौसमलगायतका कारण निकै चुनौतीपूर्ण मानिने उनी बताउँछिन् ।
ताप्लेजुङको सदरमुकाम फुङलिङदेखि कञ्चनजङ्घा हिमालको आधार शिविर घुन्सा हुँदै सुदूरपश्चिम प्रदेशको दार्चुलामा पुगेर एक सय दिनमा यो अभियान टुंगिनेछ ।
१७ वटा हिमाली जिल्लाहरूको फेदबाट यात्रा तय गरिने गुरुङको भनाइ छ ।
उनको नेतृत्वमा सरस्वती तामाङ, संगीता तामाङ, वर्षा बिक, संगीता विश्वकर्मा, अनिसा श्रेष्ठ, रंजिता लामा, शान्ति थिङ तामाङ, श्रृष्टि तामाङ, मनमाया तामाङ, दीपा लामिछाने, र प्रमिता सापकोटा रहेका छन् । उनीहरू सिन्धुपाल्चोक निवासी हुन् । यसैगरी दाङका ६५ वर्षीय पुरुष सुन्दरकुमार चौधरी यात्रामा रहेका छन् ।
पदयात्राको नेतृत्व गरेकी गुरुङ सन् २००८ मा आयोजित पहिलो समावेशी महिला सगरमाथा आरोहण दलकी सदस्यसमेत हुन् ।
सगरमाथा, कञ्चनजंघा, मकालु, मनास्लु, अन्नपूर्ण, धौलागिरीलगायत ८ हजार मिटर अग्ला हिमालको आधार शिविरभन्दा मुनि भएर बनाइएको ‘ग्रेट हिमालयन ट्रेल’मा मुख्य दुई रुट विदेशीमाझ प्रख्यात छन् । एउटा ६ हजार एक सय मिटर हाराहारी उचाइको माथिल्लो कठिन भेग ।
दोस्रो दुर्गम गाउँबस्ती भएको तल्लो रुट । यो समूहले ६ हजार एक सय मिटर उचाइमा पर्ने उच्च हिमाली पास छिचोल्दै हिमाली जिल्लाका अन्तिम बस्ती हुँदै पदयात्रा गर्ने जनाएको छ ।
पदयात्राका लागि जनही १२ देखि १५ लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ । यात्रालाई १० खण्डमा विभाजन गरिएको छ ।
Discussion about this post