इटहरी : सुनसरीका अग्रज पत्रकार हिमाल राईको निधन भएको छ ।
बराहक्षेत्र २ निवासी राईको आज (आइतबार) निधन भएको हो । बराहक्षेत्रमा रहेर दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गर्दै आएका राईको निधनपछि शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।
घरमा एक्लै बस्दै आएका उनको घरको प्यासेजमा बसिरहेको अवस्थामा शव भेटिएपछि प्रहरीले शव पोस्टमार्टमका लागि प्रतिष्ठानमा पठाएको हो ।
राईकी एक श्रीमती, एक छोरा र एक छोरी छन् । श्रीमती र छोरी काठमाडौँमा बस्दै आएका थिए । उनीहरू दिउँसो २ बजेतिर काठमाडौँबाट आएपछि पोस्टमार्टमका लागि प्रतिष्ठान लगिएको हो ।
छोरा भने युकेमा बस्दै आएका छन् । उनी युकेबाट आएपछि मात्रै अन्त्यष्टि गरिने परिवारजनले जनाएका छन् । छोरा सोमबार युकेबाट हिँड्ने परिवारजनले जनाएका छन् ।
ग्रामीण पत्रकारिता गर्न रुचाउने राई नेपाल पत्रकार महासंघ कोशी प्रदेशका प्रदेश पार्षदसमेत हुन् ।
Discussion about this post