धरान : लिम्बू पत्रकार संघ, जिल्ला कार्यसमिति सुनसरीको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ।
धरानस्थित चुम्लुङहिममा सम्पन्न अधिवेशनले स्वर्णिमहाङ फोम्बोको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा मेरिना तुम्सा लिम्बू, सचिव टिना चोङबाङ, सह–सचिव किरण थेबे निर्वाचित भएका छन्।
कोषाध्यक्ष भने कार्य समितिको बैठकले मनोनयन गर्ने नवनिर्वाचित अध्यक्ष फोम्बोले बताए।
कार्यसमिति सदस्यमा मनिहाङ लिम्बू, विनोद केदेम, जीवन केदेम र इन्द्रकुमार लिम्बू चिर्वाचित भएका छन्।
अधिवेशनको उद्घाटन, कार्यक्रमका प्रमुख अतिथि, लिम्बू पत्रकार संघका संघीय अध्यक्ष सन्देश सुब्बाले गरेका थिए।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै सुब्बाले लिम्बू पत्रकार संघले पत्रकारहरुको पेशागत सुरक्षा, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतासँगै याक्थुङ (लिम्बू) समुदायको भाषा, कला, सभ्यता र संस्कृतिको उजागर गर्ने बताए।
उनले याक्थुङ (लिम्बू) समुदायमाथि भइरहेका भाषिक, साँस्कृतिक दमन र अतिक्रमणको संघले सशक्त कलमी प्रतिरोध गर्ने समेत बताए।
उद्घाटन समारोहमा लिम्बू पत्रकार संघका तुम्याहाङ, वरिष्ठ पत्रकार हर्ष सुब्बाले लिम्बू पत्रकारहरुले चेतना र अधिकारबारे सशक्त रुपमा कलम चलाउनुपर्ने बताए।
त्यसका लागि संघले पत्रकारहरुको क्षमता अभिबृद्धिमा विशेष ध्यान दिनुपर्ने सुझाब दिए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सुनसरीका अध्यक्ष सुनिल चौधरी, किरात राई पत्रकार संघ सुनसरीका अध्यक्ष वसन्त राईले शुभकामना मन्तव्य राखेका थिए।
नवनिर्वाचित कार्यसमितिलाई कार्यक्रमका प्रमुख अतिथि, संघका संघीय अध्यक्ष सुब्बाले सपथ ग्रहण गराएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीकी उपाध्यक्ष यसोदा सेने, पत्रकार भैरव आङला, लगायतले बधाई ज्ञापन गरेका थिए।












Discussion about this post