विराटनगर : आर्थिक अपचलन प्रकरणमा विराटनगरका प्रतिष्ठित हार्डवेयर व्यवसायी सौरभकुमार बियानी कारागार चलान भएका छन्।
‘न्यू सौरभ ट्रेडिङ्ग’ र ‘बियानी एण्ड ब्रदर्स हार्डवेयर एण्ड मार्वल’का प्रोप्राइटर रहेका बियानीमाथि १ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी मूल्य अभिवृद्धि कर (भ्याट) छली गरेको अभियोग लागेको छ।
आन्तरिक राजस्व कार्यालय, विराटनगरका अनुसार बियानीले नक्कली बिलमार्फत ८२ करोड रुपैयाँभन्दा बढीको कारोबार देखाउँदै भ्याट छली गरेका थिए।
त्यसअनुसार, कर अधिकृत भवानीप्रसाद दाहालद्वारा हस्ताक्षरित पत्रअनुसार मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिमको गम्भीर उल्लंघन देखिएको छ।
कार्यालयले बियानीसँग भ्याट छलीबापत १ अर्ब ३१ करोड ६४ लाख ९८ हजार ५८४ रुपैयाँ धरौटी माग गरेको थियो।
तर, मागअनुसार धरौटी नगद वा जेथा जमानी बुझाउन नसकेपछि ऐनको दफा २३ (घ) बमोजिम बियानीलाई अदालती आदेश नभएसम्मका लागि सोमबार (असार १६) गते कारागार चलान गरिएको हो।
राजस्व अनुसन्धान तथा मूल्य अभिवृद्धि कर विभागको कडा निगरानीका कारण पछिल्ला वर्षमा उच्च स्तरका कर छली प्रकरण बाहिर आउन थालेका छन्।
















Discussion about this post