खोटाङ : फूल कसलाई मन नपर्ला र ? केटाकेटी होस् या वृद्धवृद्धा जोकोहीलाई मनपर्छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारकी सविना राई (कसजू) पनि फूलको सौखिन थिइन् ।
घर आँगन सजाउने रहरले एउटा, दुईवटा बोट रोप्दारोप्दै घर आसपास फूलले ढाक्यो । अन्ततः त्यही सौख व्यवसायमा परिणत भयो । दुईवर्ष अघि उनले ‘सहयोगी पुष्प नर्सरी’ नै दर्ता गरिन्।
“यही व्यवसाय गर्छु भनेर सोचेकै थिइँन”, उनी भन्छिन्, “फूल रोप्दारोप्दै व्यवसाय गर्नुपर्ला कि भन्ने सोच आएर नर्सरी व्यवसाय दर्ता गरेकी हुँ ।”
उनको नर्सरीमा हाल एक सय बढी प्रजातिका फूलका बिरूवा छन् । प्रति बिरूवा एक सय ५० देखि दुई हजार पाँच सय सम्मका फूलका बिरूवा उनको नर्सरीमा पाइन्छ ।
बगनबेली, लालुपाते, बेगुनिया, एजेलिया, गोदाबारी, पिटोनिया, भर्विना, ग्लाग्सोनिया, सिजेनियम, लिलियम, यन्थोरियम, डेन्थस, गजनिया, जर्भेरा, क्रिसमस ट्री, गोलक्रस, साइकस, सल्फेरा, सिपोटियम, स्नोह्वाइट, चाईना डललगायत प्रजातिका फूलका बिरुवा नर्सरीमा ढकमक्क छन् ।
उत्पादन भएकामध्ये सबैभन्दा बढी बगनबेली, लालुपाते, बेगुनिया र एजेलिया प्रजातिका फूलका बिरूवा बिक्री हुने गरेको उनले बताइन् ।
ग्राहकको माग बढ्दै गएपछि चार लाख लगानीमा सुरु गरेको पुष्प व्यवसाय यस वर्षदेखि थप विस्तार गर्ने तयारीमा रहेकी छन् ।
आम्दानीसमेत दिन थालेपछि व्यवसाय थप विस्तार गर्ने तयारीमा रहेको उनले बताइन् ।
“मलाई फूलसँग खेल्न रमाइलो लाग्छ । धेरैजसो समय फूलको बगानमै हुन्छु । रहरै रहरमा सुरु गरिएको फूल खेतीले आम्दानीसमेत दिन थालेको छ, पछिल्लो समय फूलका बिरुवा खरिद गर्न ग्राहकहरू दैनिक आउन थालेका छन् । यसले मलाई व्यवसायिक बन्न प्रेरणा मिलेको छ”, उनले भनिन् ।
तीनवटा प्लाष्टिक टनेल बनाएर व्यावसायिक फूल खेती सुरु गरेकी सविनालाई उनका श्रीमान इन्द्र कसजूले सहयोग गर्दै आएका छन् । फूलका बिरूवा खरिद गर्ने ग्राहक जिल्लाभित्र र बाहिरका समेत छन् ।
दुई वर्षअघि इलाम र पाँचथरबाट खरिद गरेर ल्याइएका फूलका बिरूवालाई मूल बोटको रूपमा विकास गर्दै बिरूवा उत्पादन गरेर बिक्री गर्न थालेको उनले बताइन् ।
दिक्तेल बजारमै पक्की घरहरू धमाधम बनिरहेकाले घरहरूमा सजाउन पनि स्थानीयले फूलका बिरूवा खरिद गर्ने क्रम बढ्दै गएको छ ।














Discussion about this post