विराटनगर : विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिको कार्यकक्षको दराजमा दुई थान खुकुरी फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ।
विद्यार्थीहरूबीच खुकुरी भेटिएको विषयमा चर्को चर्चा र होहल्ला भएपछि प्रहरीले तत्कालै स्ववियु भवनमा पुगेर छानबिन गरेको हो।
प्रहरी निरीक्षक अप्रिल चापागाईंको नेतृत्वमा रहेको टोलीले खुकुरी फेला पारेको जनाएको छ। चापागाईंका अनुसार भीडभाडको समयमा एक विद्यार्थीले ती खुकुरी दुई व्यक्तिसँग सम्बन्धित भएको बताएकी थिइन्।
प्रहरीले हालसम्म ती व्यक्तिहरू क्याम्पस परिसरमा नभएको जानकारी पाएको र अनुसन्धान भइरहेको छ।
चापागाईंले भने, ‘खुकुरी लिएर आउनेहरू अहिले क्याम्पस परिसरभित्र नभएको भन्ने जानकारी आएको छ । अहिले अनुसन्धान गरिरहेका छौँ ।’
यता, स्ववियु सभापति रोहित यादवले आफूले खुकुरी नल्याएको दाबी गरे ।
उनले भने, ‘स्ववियु कार्यालय बिहान ६ बजेदेखि नै खुल्ने भएकाले सबै कुरा मेरो नियन्त्रणमा हुन्न,’ यादवले थपे, ‘यदि प्रमाणित भयो भने म सभापतिबाट राजीनामा दिनेछु।’
यसअघि स्ववियु निर्वाचनको समयमा महेन्द्र मोरङ क्याम्पसमा नेविसंघका विद्यार्थीहरूबीच खुकुरी हानाहान भएको थियो । जसमा केही विद्यार्थी नेता घाइते भएका थिए भने केही पक्राउ परेका थिए।
प्रहरीले उक्त घटनाको थप अनुसन्धान गरिरहेको छ।














Discussion about this post