इटहरी : पछिल्ला वर्षहरूमा आवश्यक सीप सिकेर तथा दक्षता हासिल गरेर वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै छोटो अवधिको ‘केयर ट्रेनिङ’ प्रति आकर्षित हुन थालेका छन् ।
इटहरीमा सञ्चालित यलम्बर केयर गिभर ट्रेनिङ सेन्टरमा तीन वर्षको अवधिमा विदेश जानकै लागि पाँच सय भन्दा बढीले तालिम लिएका छन् ।
तालिम लिनेमध्ये सबैभन्दा बढी इजरायल जाने तयारीमा रहेका छन् । जसमा अहिलेसम्म ६२ जनाले आवेदन पेस गरेका छन् ।
तीमध्ये १६ जनाको इजरायल जाने अन्तिम तयारीमा रहेको केयर गिभर ट्रेनिङ सेन्टरका निर्देशक नरेन्द्र दंगालले बताए ।
उनका अनुसार इजरायल जाँदा जेष्ठ नागरिकहरूको हेरचाह गर्न जानेले आकर्षक तलब पाउने भएकाले गर्दा पनि ‘केयर ट्रेनिङ’ तालिम लिनेको जमघट हुने गरेको हो ।
इजरायलबाहेक केही युकेसमेत गएका छन् । युके जानैकै लागि इटहरीकै सञ्जिता घिमिरेले पनि छोटो अवधिको केयर केयर ट्रेनिङ लिइ सकेकी छन् ।
उनी भन्छिन्, ‘मेरो त श्रीमान युकै भएतापनि त्यहाँ गएर बढी पैसा कमाउने भएकाले गर्दा जेष्ठ नागरिक हेरचाह तालिम लिएको हो ।’
यतिबेला इटहरीमा ‘केयर ट्रेनिङ’ सेन्टर तीन वटा छन् । यद्यपि, सिटिईभिटीबाट मान्यता प्राप्त एउटा मात्र छ, जुन यलम्बर केयर ट्रेनिङ हो ।
‘इटहरीमा हाम्रो केयर ट्रेनिङमा व्यवस्थित ल्याब भएकाले गर्दा पनि विद्यार्थीको चाप रहेको छ,’ उनले भने, ‘पछिल्लो समय विदेशमा मात्र नभएर स्वदेशमै पनि जेष्ठ नागरिक र बालबालिका हेर्नका लागि हेरालुको माग बढ्दो छ ।’
खासगरी कामकाजी छोराछोरी भएको घरका अथवा परिवार विदेश भएका घरको ज्येष्ठ नागरिकहरूलाई हेरचाह गर्न ‘केयर ट्रेनिङ’ मा सिक्न आउने गरेका छन् ।
‘जो जो विदेश जान्छन्, त्यहाँ उनीहरुको कमाई राम्रो हुने नै छ,’ उनले भने, ‘अब त नेपालमा पनि जष्ठ नागरिक र बालबालिका हेरचाह गर्नेको माग ज्यादै आउने गरेको छ।’
लामो समय इजरायल बसेर फर्किएपछि केयर टे«निङमा प्रशिक्षकको काम गर्दै आएकी कमला निरौलाले जेष्ठ नागरिक र बालबालिकासँगै असक्त, अपाङ्ग भएका व्यक्तिलाई हेरचाह गर्ने भरपर्दो, विश्वासिलो सहयोगी पाउन मुस्किल भएको कारण ‘केयर ट्रेनिङ’ सेन्टर खोजी गरि सीप सिक्ने संस्कार बढेको बताइन् ।














Discussion about this post