इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–१ दूधपानी खोलामा शनिबार दिउँसो मोटरसाइकलसहित दम्पती बग्दा श्रीमान् बेपत्ता भएका छन् भने श्रीमतीको उद्दार गरिएको छ।
मदन भण्डारी लोकमार्गमा काठमाण्डौँबाट धनकुटातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४७प ७३८ नम्बरको मोटरसाइकल दूधपानी खोलाबाट तर्ने क्रममा खोलाले बगाएको हो।
सर्लाही हरिवनका २७ वर्षीय मनिष पन्चकोटी चालक र पछाडि सवार उनकी श्रीमती २७ वर्षीया सिलु खड्गी दुर्घटनामा परेका थिए।
घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय महेन्द्रनगर, चतरा र सशस्त्र प्रहरी बेस क्याम्प चतराबाट गरी २७ जनाको संयुक्त टोली खटिएको थियो।
टोलीले खड्गीलाई उद्दार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेको मोटरसाइकल समेत खोलाबाट निकालिएको भए पनि चालक पन्चकोटी भने अहिलेसम्म फेला परेका छैनन्। प्रहरीले उनको खोजी कार्य जारी रहेको बताएको छ।














Discussion about this post