इटहरी : मोरङ, सुनसरी र ताप्लेजुङ जिल्लाको विभिन्न स्थानमा लागूऔषध ओसारपसार तथा बेचबिखनमा संलग्न दुई महिलासहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ।
मोरङको इलाका प्रहरी कार्यालय मधुमल्ला र उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका–१ की दुर्गादेवी भण्डारीलाई उनको घरबाट १९ ग्राम २०० मिलिग्राम ब्राउनसुगर र एक थान डिजिटल तराजुसहित नियन्त्रणमा लिएको हो।
सोही स्थानका गिरिजा तामाङ र चन्द्रबहादुर दनुवारलाईसमेत शंका लागेपछि चेकजाँच गर्दा उनीहरूको साथबाट १ ग्राम ५२० मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ।
त्यस्तै, इलाका प्रहरी कार्यालय रंगेलीले पथरी शनिश्चरे नगरपालिका–१० की विनिता लिम्बुलाई १ ग्राम १४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
उता, इलाका प्रहरी कार्यालय रानीले विराटनगर–११ का प्रशान्त राईलाई २७० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ।
सुनसरीमा पनि प्रहरीले लागूऔषध नियन्त्रण कारबाहीलाई तीव्रता दिएको छ।
अस्थायी प्रहरी चौकी बरगाछीले धरान–१९ का समीर विश्वकर्मा र अर्जुन विश्वकर्मालाई २ ग्राम ३८ मिलिग्राम ब्राउनसुगर, ५२ क्याप्सुल ट्रामाडोल र ५२ ट्याब्लेट डिकोलिक सहित नियन्त्रणमा लिएको जनाएको छ।
त्यस्तै, इलाका प्रहरी कार्यालय धरानले प्रदेश १–०२–०५३ प ९९८२ नम्बरको मोटरसाइकल चालक, धनकुटा सहिदभूमि गाउँपालिका–१ का सिद्धार्थ राईलाई ११ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ।
यसैबीच, ताप्लेजुङमा जिल्ला प्रहरी कार्यालयले फुङलिङ नगरपालिका–६ का रोशन पोखरेललाई ६८ चक्की प्रतिबन्धित औषधिसहित नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरू सबैमाथि लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम थप अनुसन्धान कार्य जारी छ।













Discussion about this post