मोरङ : मोरङको लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या प्रकरणमा छिमेकी पदम अधिकारीलाई मुख्य संलग्नता रहेको भन्दै प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ।
गत असोज २१ गते घरबाट निस्किएकी अंशुको शव कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र क्षतविक्षत अवस्थामा फेला परेको थियो।
बालिकाको टाउको र शरीर छुट्टिएको तथा क्षतविक्षत एवं सडेर दुर्गन्धित भएको अवस्थामा शव भेटिएको थियो।
घरबाट हराएकै दिन अंशुको हत्या भएको र पछि बीभत्स अवस्थामा शव फेला परेको प्रहरीको भनाइ छ। प्रहरी स्रोतका अनुसार पदम आफैंले अंशुको हत्या गरेको स्वीकार गरेका छन् ।
प्रहरी स्रोतका अनुसार अन्दाजी ५० वर्षीय अधिकारीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ।
उनीबाट प्रारम्भिक स्वीकृति मिलेको दाबी प्रहरीले गरे पनि आधिकारिक रूपमा पुष्टि भने गरिएको छैन। शव कुहिएको अवस्थामा भेटिएको कारण अनुसन्धान जटिल बनेको प्रहरी स्रोत बताउँछ।
पोस्टमार्टम, डीएनए परीक्षण र अन्य फरेन्सिक प्रक्रियाको प्रतिवेदन आउने क्रम जारी छ। बलात्कारपछि हत्या गरिएको हो कि होइन भन्नेबारे पुष्टि हुन बाँकी छ।
घटनास्थलमा पीडितका लगाइका कपडाहरू फुकालिएको अवस्थामा भेटिएकोले यौन अपराधको सम्भावना प्रहरीले खारेज भने गरेको छैन।
मोरङ प्रहरी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर तथा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सम्मिलित टोलीले प्रमाण संकलन, स्थानीय बासिन्दासँग सोधपुछ तथा शंकास्पद व्यक्तिहरूको पृष्ठभूमि अध्ययन गर्दै अधिकारीसम्म पुगिएको जनाएको छ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार घटना संवेदनशील भएकाले विस्तृत अनुसन्धान जारी छ। ‘अन्तिम निष्कर्षमा पुग्न अझै बाँकी छ,’ उनले भने।













Discussion about this post