दुहवी : सुनसरीको दुहवी नगरपालिकामा नवनिर्मित १५ शैयाको नगर आधारभूत अस्पतालको उद्घाटन गरिएको छ ।
दुहवी नगरपालिकाका मेयर वेदनारायण गच्छदारले अस्पतालको औपचारिक रूपमा उद्घाटन गरेका हुन् ।
ग्रामीण क्षेत्रमा अस्पताल स्थापना गरेर जनतालाई स्वास्थ्य सेवाको पहुँचलाई आफनै नगरमा अत्याधुनिक उपकरणसहित न्यून शुल्कमा उपलब्ध गराइने उनले बताए ।
उपचारको अभावमा अकालमा कोही पनि नागरिक स्वास्थ्य सेवाबाट बञ्चित हुन नदिन अस्पताल सञ्चालनमा ल्याइएको उनको भनाइ छ ।
कार्यक्रमम उपमेयर मेनुका पोखरेल खतिवडाले जनतालाई सहज स्वास्थ्य सेवा उपभोग गर्नका निम्ति अस्पताल सञ्चालनमा आएको बताइन् ।
स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका प्रदेश सचिव डा. यदुचन्द्र घिमिरेले आधारभुत रूपमा नगरभित्रका जनतालाई स्वास्थ्य सेवाका लागि नगरपालिकाले गरेको प्रयासलाई सबैले सहयोग गर्नुपर्ने बताए ।
उनले नगरमा रहेका जनतालाई आवश्यक परेको अवस्थामा उच्चस्तरीय उपकरण र दक्ष अनुभवी डाक्टरबाट २४ सै घन्टा स्वास्थय सेवा पुर्याउन आवश्यक रहेको बताए ।
अस्पतालबाट इमर्जेन्सी, ओपीडी, प्रसूति, मातृशिशु तथा परिवार नियोजन, भिडियो एक्स–रे र डिजिटल एक्स–रे, प्रयोगशाला, रेबिज रोगविरूद्धको खोप, इसीजी, आँखा तथा कान उपचार सेवा प्रवाह गरिने बताइएको छ ।
कार्यक्रममा स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँ, प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, दुहवी नगरपालिकाका १ देखि १२ नम्बर वडासम्मका वडा अध्यक्ष तथा विभिन्न पदाधिकारीहरूको सहभागिता रहेको थियो।












Discussion about this post