आगामी प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै सरकारले देशभरका करिब एकतिहाइ मतदानस्थललाई ‘अति संवेदनशील’ घोषणा गरेको छ ।
पछिल्लो सुरक्षा अवस्थाको जोखिम मूल्यांकनपछि ३ हजार ६ सय ८० मतदानस्थल उच्च जोखिम सूचीमा राखिएका हुन् ।
जोखिम मूल्यांकनका आधारमा सरकारले देशभर रहेका करिब ११ हजार मतदानस्थलमध्ये ३ हजार ६ सय ८० वटालाई ‘अति संवेदनशील’ सूचीमा राखेको छ । सुरक्षा निकायहरूको संयुक्त अध्ययनपछि करिब एकतिहाइ मतदानस्थल उच्च जोखिममा रहेको निष्कर्ष निकालिएको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार मतदानस्थललाई ‘अति संवेदनशील’, ‘संवेदनशील’ र ‘सामान्य’ गरी ३ भागमा वर्गीकरण गरिएको छ ।
उनका अनुसार ४ हजार ४ सय ४२ मतदानस्थल संवेदनशील र २ हजार ८ सय ४५ मतदानस्थल सामान्य श्रेणीमा परेका छन् ।
वर्गीकरण गर्दा राजनीतिक प्रतिस्पर्धाको तीव्रता, दलहरूको प्रभाव क्षेत्र, सीमा जोडिएका इलाका, विगतका निर्वाचन अनुभव, नयाँ राजनीतिक शक्तिको उपस्थिति, सहरी/ग्रामीण अवस्था र भौगोलिक जोखिमलाई आधार बनाइएको प्रहरीले जनाएको छ ।
हिमाली क्षेत्रदेखि तराईसम्म फरक–फरक सुरक्षा रणनीति लागू गरिएको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा २ सय ७५ सिटका लागि मतदान हुँदैछ । तीमध्ये १ सय ६५ सिट प्रत्यक्ष र १ सय १० सिट समानुपातिक प्रणालीबाट टुंगो लाग्नेछ ।
निर्वाचन आयोगका अनुसार यसपटक १० हजार ९ सय ६७ मतदानस्थल र २३ हजार १ सय १२ मतदान केन्द्र तोकिएका छन् ।
निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन प्रहरी गरी ३ लाखभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिनेछ । यसमा नेपाली सेनाका करिब ८० हजार, नेपाल प्रहरीका ७१ हजारभन्दा बढी, सशस्त्र प्रहरीका ३५ हजार र अनुसन्धान विभागका करिब २ हजार कर्मचारी रहनेछन् ।
साथै, सरकारले १ लाख ४९ हजारभन्दा बढी निर्वाचन प्रहरी भर्नाको प्रक्रिया चलाइरहेको छ ।
सुरक्षा निकायले निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने तयारी भइरहेको बताएका छन् ।












Discussion about this post