विराटनगर : नेपाल–भारत सीमा सुरक्षा सहकार्य सुदृढ गर्ने उद्देश्यले आयोजित उच्चस्तरीय समन्वय बैठकमै सशस्त्र प्रहरी बलका एक अधिकृतको ज्यान गएको छ।
मोरङका सशस्त्र प्रहरी प्रमुख एसपी राजेश घिमिरेको ड्युटीमै रहँदा हृदयघातका कारण निधन भएको हो।
शुक्रबार मोरङको विराटचोकमा सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल (एसएसबी) का अधिकारी सहभागी डीआईजी तहको समन्वय बैठक चलिरहेकै बेला घिमिरे अचानक बेहोस भएर ढलेका थिए।
सीमा अपराध नियन्त्रण, सुरक्षा समन्वय र संयुक्त कार्यप्रणालीबारे छलफल भइरहेका बेला भएको यो घटनाले बैठकमा सहभागी अधिकारीहरूलाई स्तब्ध बनाएको थियो।
सशस्त्र प्रहरी बल नं. १ बराह वाहिनी पकली, सुनसरीका डीआईजी कुमार न्यौपानेका अनुसार बैठकको क्रममा घिमिरेले केही असहज महसुस गरे पनि ‘म ठिक छु’ भन्दै जिम्मेवारी पूरा गर्न पुनः बैठकमा फर्किएका थिए। तर साँझपख पुनः अचानक ढलेपछि अवस्था गम्भीर बनेको हो।
तत्काल विराट शिक्षण अस्पताल पुर्याइएका घिमिरेको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। अस्पतालले उच्च रक्तचापका कारण हृदयघात भएको पुष्टि गरेको छ।
उपचारकै क्रममा राति करिब ९ बजे उनको निधन भयो।














Discussion about this post