मोरङ : मोरङको सुन्दरहरैँचामा प्रहरीले हतियार र सञ्चार सेटसहित दुई जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सुन्दरहरैँचा नगरपालिका–२ बेलडाँगी निवासी २८ वर्षीय सिलास लिम्बूको घरबाट पेस्तोल, भरुवा बन्दुक र हेण्डसेट बरामद गरेको हो।
आइतबार बेलुका इलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी गछियाको संयुक्त टोलीले लिम्बुको घरमा छापा मारेको थियो।
खानतलासीका क्रममा उनको सुत्ने कोठाबाट ‘मेड इन यूएसए’ लेखिएको एक थान पेस्तोल, बाओफेङ लेखिएका दुई थान हेण्डसेट तथा एक थान भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रारम्भिक सोधपुछका क्रममा लिम्बूले उक्त हतियार र हेण्डसेट सुन्दरहरैँचा नगरपालिका–३ निवासी २९ वर्षीय प्रेमबहादुर गुरुङबाट लिएको खुलाएका थिए। त्यसपछि प्रहरीले गुरुङलाई पनि उनकै घरबाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखी थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ।














Discussion about this post