झापा : भारतीय नम्बर प्लेटका सवारी साधन प्रयोग गर्दै नेपाल प्रवेश गरेका सात भारतीय नागरिकलाई प्रहरीले शंकास्पद अवस्थामा नियन्त्रणमा लिएको छ।
प्रारम्भिक अनुसन्धानमा उनीहरूको साथबाट नेपाल सरकारको छाप प्रयोग गरिएका नक्कली कागजात, विभिन्न परिचयपत्र र मोबाइल फोन बरामद भएपछि संगठित कागजात किर्ते गिरोह सक्रिय रहेको आशंका गरिएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चेकजाँचका क्रममा भारतीय नम्बर प्लेट WB 06 X 0300 को टोयोटा फर्चुनर र WB 06 U 3006 को मारुती सुजुकी बालेनो नियन्त्रणमा लिइएको हो। ती गाडीमा सवार व्यक्तिहरूबाट ठूलो परिमाणमा शंकास्पद सामग्री फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा भारत, पश्चिम बंगालका अरिन्दम धर, दीपा भौमिक, सुमन सरकार, नुर कलाम सेख, अबेद अली होसैन, फारुक अज्मी तथा झापा कमल गाउँपालिकाका देवेन्द्र सापकोटा रहेका छन्।
प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार अरिन्दम धरको साथबाट नेपाल सरकारको छाप प्रयोग गरिएको राजस्वसम्बन्धी कागजात, कर चुक्ता प्रमाणपत्र, तारिख पर्चा तथा भारतीय ड्राइभिङ लाइसेन्स बरामद भएको छ।
अन्य व्यक्तिहरूबाट आधार कार्ड, भोटर कार्ड, एटीएम कार्ड, ड्राइभिङ लाइसेन्स, निर्वाचन आयोगको परिचयपत्र, नक्कली प्रहरी परिचयपत्र लगायत कागजात फेला परेका छन्।
यस्तै रेड्मी, स्यामसङ, भिभो, रियलमी लगायत विभिन्न कम्पनीका मोबाइल सेटसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। घटनालाई सरकारी छाप दस्तखत किर्ते सम्बन्धी कसुरअन्तर्गत अनुसन्धान अघि बढाइएको छ।
प्रहरी स्रोतका अनुसार बरामद सामग्रीको प्रकृति हेर्दा सीमापार नेटवर्कमार्फत नक्कली कागजात उत्पादन तथा प्रयोग गर्ने गिरोह सक्रिय हुन सक्ने संकेत देखिएको छ। पक्राउ परेकामाथि थप सोधपुछ तथा डिजिटल प्रमाण संकलन कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।














Discussion about this post