विराटनगर : कोशी प्रदेशका पूर्व मन्त्री रेवतीरमण भण्डारीले दुई दिन बिदा दिने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन्।
सङ्घीय मन्त्रिपरिषद्ले सातामा दुई दिन सार्वजनिक बिदा र बिहान ९ बजेदेखि कार्यालय खोल्ने निर्णयप्रति असहमति जनाउँदै प्रदेशको स्वायत्त अधिकारमाथि उनले प्रश्न उठाएका हुन्।
सोमबार बसेको कोशी प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले सङ्घीय निर्णय प्रदेशमा स्वतः लागू हुने आधार नै नभएको स्पष्ट पारे।
उनका अनुसार सङ्घीय र प्रदेशस्तरका निजामती ऐन, कार्य सञ्चालन नियमावली र प्रशासनिक संरचना फरक भएकाले एउटै निर्णय सबै तहमा लागू हुनु सङ्घीयताको मर्म विपरीत हो।
भण्डारीले यस विषयलाई संघीय संरचनाको परीक्षणका रूपमा व्याख्या गरे। “सङ्घले निर्णय गर्दैमा प्रदेशले आँखा चिम्लेर पछ्याउनु भनेको अधिकार हस्तान्तरण होइन, अधिकार क्षय हो,” उनले भने।
उनले बिहान ९ बजेको कार्यालय समयलाई व्यवहारिक रूपमा असफल हुने तर्क गरे। तराई र पहाडका सामाजिक जीवनशैली, खानपान र यातायात अवस्थालाई ध्यान नदिई गरिएको यस्तो निर्णयले कर्मचारी र सेवाग्राही दुवैलाई असहज बनाउने उनको भनाइ छ।














Discussion about this post