इटहरी : नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री प्रदीप कुमार सुनुवारसहित सात जना जनप्रतिनिधिसँग स्पष्टीकरण माग गरेको छ।
२१ फागुनमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा उनीहरूलाई पाँच दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिइएको हो।
अनुशासन समितिको बुधबार बसेको बैठकले सुनुवारसहित लुम्बिनी प्रदेशका वनमन्त्री देवकरणप्रसाद कलवार र यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेलाई पनि स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
यस्तै, लुम्बिनी प्रदेशसभा सदस्य राजु खनाल तथा मधेस प्रदेशका सांसदहरू जंगीलाल राय, सकुन्तीदेवी महरा र कौशलकिशोर राय लाई पनि कारबाही प्रक्रियामा तान्दै स्पष्टीकरण सोधिएको छ।
ओखलढुङ्गाबाट प्रदेशसभा सदस्य निर्वाचित सुनुवारमाथि प्रतिनिधिसभा सदस्यका आधिकारिक उम्मेदवार कुमार लुइँटेललाई अन्तरघात गरेको आरोप छ।
उक्त क्षेत्रमा लुइँटेल राष्ट्रिय स्वतन्त्र पार्टीका विश्वराज पोखरेलसँग मात्र ५ मतान्तरले पराजित भएका थिए।
सुनुवार शेरबहादुर देउवा निकट मानिने नेता हुन्। उनी एकै कार्यकालमा पटकपटक मन्त्री भइसकेका छन्।















Discussion about this post