विराटनगर : नेपाल नेत्र ज्योति संघले नेत्र स्वास्थ्य सेवा, संस्थागत विकास र सेवा विस्तारमा योगदान पुर्याएको भन्दै विराटनगर आँखा अस्पतालका अस्पताल प्रबन्धक कुमार पृथुलाई सम्मान गरेको छ।
संघको ३०औँ केन्द्रीय साधारणसभामा पृथुलाई विशेष सम्मान प्रदान गरिएको हो। संघका अनुसार उनले विगत १५ वर्षदेखि विराटनगर आँखा अस्पतालको प्रशासनिक तथा व्यवस्थापकीय नेतृत्व सम्हाल्दै अस्पताललाई प्रभावकारी र सेवामुखी संस्थाका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेका छन्।
उनको नेतृत्वमा अस्पतालले सेवा गुणस्तर सुधार, आधुनिक प्रविधिको प्रयोग, दक्ष जनशक्ति उत्पादन तथा सामुदायिक नेत्र स्वास्थ्य कार्यक्रम विस्तारमा उल्लेखनीय उपलब्धि हासिल गरेको संघले जनाएको छ।
सोही कार्यक्रममा विराटनगर आँखा अस्पताललाई पनि देशकै अग्रणी आँखा अस्पतालका रूपमा स्थापित हुन सफल भएको भन्दै विशेष सम्मान प्रदान गरिएको थियो। अस्पतालले नेपालका साथै भारत, बंगलादेश र भुटानका सेवाग्राहीलाई समेत गुणस्तरीय नेत्र सेवा उपलब्ध गराउँदै आएको छ।
सम्मान ग्रहणपछि पृथुले यो सम्मान आफ्नो व्यक्तिगत उपलब्धिभन्दा पनि अस्पताल परिवारको सामूहिक मेहनत, समर्पण र सेवाभावको कदर भएको प्रतिक्रिया दिए। उनले यसले आगामी दिनमा अझ प्रभावकारी र पहुँचयुक्त नेत्र सेवा प्रदान गर्न प्रेरणा मिलेको बताए।












Discussion about this post