इटहरी : इटहरी, धरानसहित कोशी प्रदेशका प्रमुख सहरमा खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ।
उद्योगबाट पर्याप्त आपूर्ति हुन नसक्दा अधिकांश डिलर र ग्यास विक्रेताको गोदाम खाली भएका छन् भने उपभोक्ता खाली सिलिन्डर बोकेर सहरका प्रत्येकजसो डिलर धाउन बाध्य भएका छन्।
इटहरी र धरानका धेरै ग्यास डिपोमा केही सातायता नियमित आपूर्ति हुन नसकेपछि नयाँ सिलिन्डर वितरण ठप्पजस्तै बनेको छ।
कतिपय स्थानमा सीमित सिलिन्डर आइपुग्नेबित्तिकै केही घण्टामै सकिने गरेको व्यवसायीहरूले बताएका छन्। जसका कारण उपभोक्ताहरू ग्यासको प्रतीक्षामा हप्तौँसम्म लाइन बस्नुपर्ने अवस्था सिर्जना भएको छ।
ग्यास अभावका कारण होटल, रेष्टुरेन्ट तथा साना व्यवसाय पनि प्रभावित भएका छन्।
दैनिक कारोबार नै ग्यासमा निर्भर रहेका व्यवसायीले समयमै सिलिन्डर नपाउँदा वैकल्पिक इन्धन प्रयोग गर्नुपर्ने अवस्था आएको बताएका छन्। खासगरी घरायसी उपभोक्ताले समेत खाना पकाउन कठिनाइ भएको गुनासो गरेका छन्।
ग्यास विक्रेताहरूका अनुसार उद्योगबाट मागअनुसार आपूर्ति नहुँदा समस्या उत्पन्न भएको हो। केही उद्योगमा उत्पादन तथा ढुवानी प्रभावित भएकाले पूर्वी नेपालमा ग्यास वितरण असन्तुलित बनेको उनीहरूको भनाइ छ।
उपभोक्ताले कृत्रिम अभाव सिर्जना गरी कालोबजारी हुन सक्ने आशंका व्यक्त गर्दै बजार अनुगमन कडा बनाउन माग गरेका छन्।
उनीहरूले नियमित आपूर्ति सुनिश्चित गर्न र अभावको वास्तविक कारण सार्वजनिक गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
















Discussion about this post