विराटनगर : मोरङको विराटनगरस्थित विमानस्थलबाट काठमाडौं पठाउन लागिएको ब्राउनसुगर बरामद भएपछि प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार विमानस्थल सुरक्षामा खटिएको प्रहरी टोलीले प्रस्थान कक्षमा रहेको एक्स–रे मेसिनबाट सामान जाँच गर्ने क्रममा शंकास्पद वस्तु फेला पारेको थियो।
जाँचका क्रममा विराटनगर–९ महेन्द्रचोकस्थित एक्स्पो एक्सप्रेस कुरियरमार्फत विराटनगरका राघव झाको नामबाट काठमाडौं पठाउन लागिएको स्पोर्ट्स जुत्ताभित्र प्लास्टिकमा पोको पारेर सोलभित्र लुकाइछिपाइ राखिएको अवस्थामा (१८ ग्राम ४८ मिलिग्राम ब्राउनसुगर) बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद लागूऔषधसँगै ओसारपसारमा संलग्न रहेको आरोपमा विराटनगर महानगरपालिका–५ का २४ वर्षीय सुशान्त खड्कालाई विमानस्थलबाटै पक्राउ गरिएको हो।
पक्राउ परेका खड्कामाथि जिल्ला प्रहरी कार्यालय मोरङबाट लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।











Discussion about this post